तटबन्ध भत्किन थालेपछि पर्शुराम धाम संकटमा | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

तटबन्ध भत्किन थालेपछि पर्शुराम धाम संकटमा

parsuram dham sankatma

विमल जैरु
डडेल्धुरा, १५ कात्तिक । महाकाली नदी किनारमा करिब १५ बर्षअघि निर्माण गरिएको तटबन्ध भत्किन थालेपछि डडेल्धुराको प्रसिद्ध पर्शुराम धाम संकटमा पर्न थालेको छ । तटबन्ध भत्किन थालेपछि महाकाली नदीको कटानले धार्मिक तीर्थस्थल परशुराम धाम संकटमा परेको हो ।

डडेल्धुराको परशुराम नगरपालिका–५ मा रहेको प्रसिद्ध परशुराम धाम महाकाली नदीको कटानका कारण बर्षेनी संकटमा पर्दै आईरहेको छ । महाकाली नदीको किनारमा रहेको परशुराम धाम बर्षेनी बाढीले कटान गर्दै लगेपछि संकटमा परेको हो । डेढ दशकअघि निर्माण गरिएको तटबन्ध ४ वर्षयता निरन्तर कटान हुँदै जान थालेपछि स्थानीय चिन्तित बनेका छन् । तटबन्ध भत्किएका कारण महाकाली किनारामा रहेका धेरै संरचनाहरुमा समेत क्षति पुर्‍याइसकेको छ ।
parsuram dham sankatma1
महाकाली नदी छेउबाट ढुंगा निकालिएका कारण पानीको बहाव परशुराम धाम क्षेत्रतिर फर्किन थालेपछि तटबन्ध भत्किन थालेको हो । डेढ दशकअघि एक करोड बढीको लगानीमा निर्माण तटबन्धको निर्माण गरिएको थियो । तटबन्ध गरिएको अधिकांश क्षेत्रमा महाकालीले कटान सुरु गरिसकेको छ । भारतीय सिमानातिर नदीको भाग अग्लो भएपछि महाकालीले परशुराम धाम क्षेत्र कटान गर्न सुरु गरेको हो ।

डेढ दशकअघि महाकालीको भंगालो गाउँ फर्किएको क्षेत्रमा पनि तटबन्ध आधाभन्दा बढी बगाएको छ । तटबन्धको सुरक्षा र व्यवस्थापनका लागि स्थानीय निकायबाट पनि पहलहरु भईरहेको परशुराम नगरपालिका–५का वडा अध्यक्ष मिन बहादुर चन्दले जानकारी दिनुभयो ।

२०५६ मा परशुराम धाम क्षेत्रभन्दा दुई किलोमिटर माथि परिगाउँ क्षेत्रबाट महाकालीको भंगालो गाउँ पसेपछि तटबन्ध निर्माण गरिएको थियो । तटबन्ध पुनर्निर्माण नहुने हो भने परशुराम धाम मात्र नभई परिगाउँ क्षेत्रमा समेत महाकाली पस्न सक्ने खतरा देखिएको छ ।

parsuram dham sankatma2