कपिलवस्तु, १५ कात्तिक । कपिलबस्तुमा दुई पक्षबीचको झडपका कारण उत्पन्न तनावपछि रोकिएको मूर्ति विर्सजन १० बुँदे सहमति भएसँगै सम्पन्न भएको छ । बिहीबार राती २ः०० बजे दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीको मूर्ति विर्सजन गरिएको हो । कर्फ्यूका बीच सुरक्षा घेराबन्दीमा मूर्तिको विर्सजन गरिएको थियो ।
सहमति भएका बुँदामा मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल खाँलाई कानुनी कार्वाही गर्ने, प्रहरीले दमन गरे नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कफ्र्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको छ ।
दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको बताइएको छ । मृतकको सव पोष्टमार्टमका लागि तौलिहवा लगिएको छ ।




