गृहमन्त्री थापाद्वारा नागरिकलाई ट्राफिक नियमको पालना गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

गृहमन्त्री थापाद्वारा नागरिकलाई ट्राफिक नियमको पालना गर्न आग्रह

grihamantri

काठमाडौं, ५ असोज । गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गर्नु भएको छ । आइतबार राजधानीमा आयोजित १५ दिने ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री थापाले नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान भएर जाने उल्लेख गर्नुभयो ।

उहाँले काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोच र योजनामै पुनर्विचार गर्न पनि विकासका योजनाकार तथा नीति निर्माताहरुलाई आग्रह गर्नु भयो । विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायात सम्बन्धि समस्या पनि स्वतहः घटेर जाने गृहमन्त्री थापाको भनाई छ । गृहमन्त्री थापाले सिंगो मुलुक नै विकास, निर्माणको काममा तीव्र गतिका साथ अघि बढेकाले पनि यातायात क्षेत्रमा समस्या देखिएको दाबी गर्नुभयो ।

उहाँले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गर्नु भयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले छिमेकी मुलुकहरु चीन, भारत,थाइल्याण्ड लगायतका देशहरुको तुलनामा नेपालको ट्राफिक समस्या ठूलो नभएको बताउनुभयो । ट्राफिक समस्यालाई हटाउन मतहतका सबै तहहरु लागि परेको समेतत उहाँको भनाई थियो ।