बाँके, २८ भदौ । भेरी अस्पतालको प्रसूति कक्षमा खटिएका कर्मचारीको चरम लापरबाहीका कारण मृत्यु भइसकेको घोषणा गरिएको नवजात शिशु जीवितै भेटिएको छ। शुक्रबार बिहान प्रसूति कक्षमा खटिएका नर्सले जीवितै रहेको नवजात शिशुको मृत्यु भइसकेको घोषणा गरेका थिए।
जाजरकोट, छेरागाड नगरपालिका–९ कमला अधिकारीले शुक्रबार बिहान शिशु जन्माएकी थिइन्। जन्मिएको केही घण्टापछि प्रसूति कक्षकी ड्युटी इन्चार्ज वसुन्धरा ज्ञवालीले शिशुको मृत्यु भइसकेको भन्दै अभिभावकलाई बुझ्न लगाइन्। उनले शिशु मरेको भनेर कमलाका पति मिलन अधिकारीलाई कागजातमा हस्ताक्षर गराएर शव लैजान भनिन्। मृत्यु भइसकेको शिशुलाई गाड्न अस्पतालका कर्मचारीले दुई हजार मागेपछि अधिकारीले रकम नदिने भन्दै नेपालगन्ज बुलबुलियास्थित हिन्दु मसानघाट लगेका थिए।
मसानघाटमा शिशुलाई गाड्न भनी खाल्डो खनेर तयार पारियो। गाड्ने तयारी भइरहेका बेला मसानघाटकी कर्मचारी कलावती नेपालीले शिशुलाई देखाउन भनिन्। कालो प्लास्टिकको झोलाबाट मिलनले शिशु निकालेर कलावतीलाई देखाए। कलावतीले शिशु जिउँदै रहेको भनेपछि मिलन रुँदै शिशुलाई लिएर फेरि भेरी अस्पताल पुगे। अहिले शिशुको भेरी अस्पतालमै उपचार भइरहेको छ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।