सौरभ यादव
राजविराज, १३ साउन । सप्तरीका स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति विरुद्ध न्यायिक समिति, अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी पर्न थालेका छन् ।
ती मध्ये कै एक स्थानीय तह हो, ‘बलान विहुल गाउँपालिका ।’ गाउँपालिकामा विकास निर्माणका काम लगायत अन्य क्षेत्रमा भएको बेथिति दिनप्रतिदिन बाहिँरिदै आएका छन् ।
पछिल्लो पटक वडा नं.३ टिकुलिया स्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा पर्खाल निर्माण नै नगरी रकम निकासा भएको खुल्न आएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ‘टिकुलिया प्राविमा पर्खाल शीर्षकमा पाँच लाख रुपैयाँ छुट्याइएको थियो ।
तर, विद्यालयमा भने पर्खाल निर्माण नै नगरी रकम निकासा भएको महालेखा परीक्षण प्रतिवेदनमा देखिएपछि रकम हिनामिना भएको खुलेको हो । विद्यालयका लागि रकम निकासा गरिएको भएपनि विद्यालयमा कुनै पर्खाल नबनेको स्थानीयको भनाई छ ।
सदरमुकाम राजविराजबाट झण्डै ६० किलोमिटरको दुरीमा रहेको उक्त विद्यालयमा पर्खाल निर्माणका लागि रकम छुट्याइएको छ भनेर विद्यालयका प्रधानाध्यापकलाई नै कुनै जानकारी छैन ।

प्रधानाध्यापक सुकदेव गुप्ताले विद्यालयमा पर्खाल अति नै आवश्यक रहेपनि त्यस शीर्षकमा स्थानीय तहले रकम छुट्याएको विषयमा आफूलाई कुनै जानकारी नरहेको बताउनुभयो । तर गुप्ताले क्यामेरामा भने बोल्न मान्नु भएन ।
तत्कालिन नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष पदका प्रत्यासी अशोककुमार यादवले अहिले जनप्रतिनिधिहरु गाउँपालिकामा विकासभन्दा पनि परिवार विकासमा लागेको आरोप लगाउनुभयो ।
जनप्रतिनिधि, कर्मचारीले प्रक्रिया विपरित उपभोक्ता समिति गठन गरेको, उपभोक्ता समितिसँग मिलेर विधि प्रक्रिया नपु-याएर नियम विपरित काम गरेको र बजेट अनियमितता गरेको भन्दै गाउँपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ ।
उजुरीको आधारमा आयोगको इटहरी स्थित सम्पर्क कार्यालयका सात सदस्यीय टोलीले अनुसन्धान थालेका छन् । गत असार ११ र १२ गते गाउँपालिका कार्यालय पुगेको टोलीले केही कागजपत्र समेत लगेको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोइतले विद्यालयमा वाउण्ड्री वाल लगाउने बजेटले परिसर गहिरो रहेका कारण पानी जम्ने गरेकोले माटो पुरिने कार्य गरिएको बताउनुभयो ।




