सांसदहरुलाई ६ करोड दिने कार्यक्रमले मुलुकलाई अघि बढाउन सक्दैन
काठमाडौं, २७ जेठ । सत्ता साझेदार नवगठित समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले मुलुकको तीव्र आर्थिक विकास हुने गरी बजेट ल्याउन नसकेको दावी गर्नु भएको छ ।
अध्यक्ष भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले दिगो विकासको अवधारणालाई समेट्न नसकेको पनि बताउनु भयो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले संघीयता प्रतिकूल हुने गरी कानुन निर्माणको कामलाई अघि बढाएको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले सांसदहरुलाई ६ करोड रुपैयाँ दिने सरकारको कार्यक्रमले पनि मुलुकलाई अघि बढाउन योगदान दिन नसक्ने दावी गर्नु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले सरकारले मुलुकलाई अघि बढाउने दृष्टिकोण बनाउन नसकेको पनि बताउनु भयो ।