पोखरा, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको बताउनुभएको छ । नेपाल स्काउटको प्रथम ‘राष्ट्रिय रोभर मुट’को आज पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माणको लागि युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देश विकासको यस अभियानमा युवाहरुलाई अनुशासित ढंगले सहभागी गराउनका लागि स्काउटको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । ‘स्काउटले दक्षता, योग्यता, अनुशासन र देशभक्तीपूर्ण भावना भएका युवाहरु तयार गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘स्कउाटले युवालाई कर्मवीर र राष्ट्रप्रति बफादार बनाउनु पर्दछ ।’
नेपाल प्रतिभाशाली मानिसहरु बस्ने भूभाग भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले युवाहरुको प्रतिभा देश विकासका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘हामी युवाहरुलाई सक्षम बनाउनु चाहन्छौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘युवाहरुलाई भिडाएर झगडाको अखडा मात्र होइन ,उनीहरुलाई सृजनशिलता र उत्पादनमा लगाएर नेपाललाई शान्तीको थलो बनाउनु पर्दछ ।’