काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ ।
नेपाली काँगे्रेस संसदीय दलको आईतबार सिंहदरबारमा बसेको बैठकले प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउनु संसदीय मूल्य र मान्यताको समेत विरुद्ध हुने निष्कर्ष निकाल्दै आपत्ति जनाएको हो ।
भोलीबाट संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशनमा प्रि–बजेट छलफल अघि नीति तथा कार्यक्रम ल्याउने सरकारको योजना संसदीय मूल्य मान्यता विपरित हुने भएकाले त्यसप्रति बैठकले आपत्ति जनाएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बैठकले पहिले प्रि–बजेट छलफल, त्यसपछि नीति तथा कार्यक्रम र सोही अनुसारको बजेट ल्याउन सरकारलाई सचेत पनि गराएको छ ।
बैठकले सरकारले आफ्नो एकपछि अर्को निरंकुश गतिविधिलाई ढाकछोप गर्न पत्रकारहरुलाई समेत पक्राउ गर्ने काम गरिरहेको उल्लेख गर्दै त्यस्ता गतिबिधि सैह्य नहुने चेतावनी पनि दिएको छ । लोकतान्त्रिक गतिविधि र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् हुने गतिविधि तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराइएको पनि प्रमुख सचेतक खाँडले बताए ।
नेपाली काँग्रेसले सरकारको अभिव्यक्ति स्वतन्त्रता तथा लोकतन्त्रमाथि अकुंश लगाउने गतिविधिविरुद्ध सदन तथा सडकमा संघर्ष गर्ने तयारी पनि गरेको छ ।