एजेन्सी, ७ चैत । न्यूजिल्याण्डले क्रिष्ट चर्च शहरमा ५० जनाको ज्यान जानेगरी आक्रमण भएपछि अर्धस्वचालित हतियारमा प्रतिबन्ध लगाउने भएको छ । गत हप्ता न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा एक जना ब्यक्तिले दुईवटा मस्जिदमा प्रार्थना गरिरहेका व्यक्तिहरुमाथि लक्षित गरी अन्धाधुन्ध गोली चलाउँदा ५० जनाको ज्यान गएको थियो ।
उक्त घटना पछि गोलीकाण्डमा प्रयोग भएकाजस्ता अर्धस्वचालित बन्दुकमा न्यूजिल्याण्डभर प्रतिबन्ध लगाइने जनाएको हो । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अर्डेनले न्यूजिल्याण्डको बन्दुक राख्न पाउने कानूनमा संशोधन गर्दै त्यसलाई अझ कडाइ गर्ने जानकारी दिएकी हुन् ।
उनले सैनिकस्तरका अर्धस्वचालित तथा असल्ट बन्दुकबाट न्यूजिल्याण्डका जनताको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको भन्दै अर्धस्वचालित तथा असल्ट बन्दुकमाथि प्रतिबन्ध गर्ने गरी कानून संशोधन हुन लागेको जनाएकी छिन् ।
नयाँ कानून आगामी अप्रिल ११ बाट लागू गरिने तथा नयाँ कानूनमार्फत् प्रतिबन्ध लगाइएका, तर यसअघि बेचिएका बन्दुक फिर्ता गर्नसक्ने व्यवस्था समेत लागू गरिने प्रधानमन्त्री अर्डेनको भनाइ छ ।
त्यसका लागि २० करोड न्यूजिल्याण्ड डलर खर्च हुने प्रधानमन्त्रीको भनाइ छ । यद्यपि, नयाँ कानून अनुसार किसानहरुलाई जङगली जनावरबाट आफ्ना गाइवस्तु र भेडाबाख्राको रक्षा गर्नका लागि बन्दुक राख्न कुनै असुविधा नहुने बताइएको छ ।




