रूपन्देही, २९ माघ । सवारी दुर्घटना नियन्त्रणका लागि नेपाल प्रहरीले ट्राफिक कम्युनिकेशन एप प्रयोगमा ल्याएको छ । विशेषगरी लामो दूरीका सवारीसाधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने कानूनी व्यवस्था कार्यान्वयनका लागि यो एप प्रयोगमा ल्याइएको हो । ५ नम्बर प्रदेशमा प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सुनवल–१२ भुमहीमा सोमवार उक्त एपको उद्घाटन गरी प्रयोगमा ल्याएको छ ।
सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीले चालकको फोटोसहितको विवरण लिएर उक्त एप प्रयोगमा ल्याएका हुन् । यो एप प्रयोगमा आएपछि लामो दूरीमा सञ्चालन हुने सवारीसाधनले कानूनी व्यवस्था अनुसार २ सय ५० किलोमिटर दूरीपछि अर्को चालक परिवर्तन गरे–नगरेको पत्ता लाग्नेछ ।
पहिलो चरणमा काठमाडौंको नागढुंगा, सर्लाहीको कर्मैया, नवलपरासीको भुमही र बाँकेको कोहलपुरमा एप सञ्चालनमा आएको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नरवहादुर केसीले जानकारी दिए । लामो दूरीमा चल्ने सवारीसाधनमा चालक परिवर्तन भए–नभएको पत्ता लगाउन १ निश्चित विन्दुमा सवारी चालकको फोटो खिचेर सवारीसाधनको नम्बर, प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ ।
ट्राफिक प्रहरीले चेकिङ पोइन्टमा चेकजाँचको क्रममा चालकको फोटो र अनुहार जाँच तथा विवरणको आधारमा चालक परिवर्तन भए-नभएको सहजै पत्ता लगाउन सक्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।
यो खबर आजको अभियान दैनिकमा प्रकाशित छ ।




