काठमाडौं, ७ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको कामलाई तीव्रता दिइएको छ । प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्देशनमा ६ महिना भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा परिणत हुनेगरी सुधारको कामलाई तीव्रता दिइएको हो ।
नेपाली मौलिकता झल्कने खालका गेट, झ्यालको व्यवस्थापन, पर्यटकको सत्कारका लागि पानी भरिएको गाग्रो राखेर स्वागत गर्ने लगायतका नेपाली मौलिकतासहितको व्यवस्थापन गरेर यो विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
त्यसका लागि विमानस्थलले पर्यटकहरुको स्वागतका लागि आवश्यक गाग्रो राख्ने लगायतका काम सुरु गरिसकेको छ । पर्यटकहरुलाई आकर्षित हुने खालका झ्यालहरुमा आँखी झ्याल बनाउने लगायतका कामहरु पनि सुरु गरिएको छ ।
विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्न आवश्यक सर्भेका लागि ५ जना इन्जिनियरहरु परिचालन गरिएको छ । महाप्रबन्धक क्षेत्रीले विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्न नेपाली मौलिकता झल्कने गरी आवश्यक व्यवस्था गर्न ५ जना इन्जिनियरहरुको सर्भेको काम सुरु गरेको पनि जानकारी गराए ।
विमानस्थल सुधार कार्यक्रम अन्तरगत आगन्तुकहरुको बस्ने कुर्सी एक हजार वटा हाल थप गरिएको छ । त्यसैगरी विमानस्थल भित्र एसी पनि संचालनमा ल्याइएको छ । विदेशी पर्यटकहरुलाई ध्यानमा राखेर एसीको पनि उचित प्रबन्ध गरिएको पनि विमानस्थलले जनाएको छ ।





