काठमाडौँ, २२ मंसिर । बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउन खोप लगाउन कमैले बिर्सन्छन् । तर ६० वर्ष नाघेकाहरूलाई पनि खोप आवश्यक हुन्छ भन्ने यथार्थ कमैले आत्मसात् गरेका छन् ।
आफ्ना बालबालिकालाई रोगमुक्त राख्न तपाईं हामीले नबिर्सिई विभिन्न खोप लगाए जस्तै घरका बूढापाकालाई नियमित रूपमा खोप लगाउनुपर्छ । रोगमुक्त त बूढापाकाले पनि हुनुपर्छ !
खोपले संक्रामक रोगबाट शिशुहरूलाई जस्तै बूढापाकाहरूलाई समेत सुरक्षा दिन्छ । तिनमा रोग प्रतिरोधक क्षमता बढाउँछ ।
यसै कारणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी), एडभाइजरी कमिटी अन इम्युनाइजेसन प्राक्टिस (एसीआईपी) लगायतले बूढापाकाका लागि समेत खोपको निर्देशन जारी गरेका छन् । यसैले होला, केही समययता ललितपुरको पाटन अस्पतालको जेरियाट्रिक मेडिसिन विभागमा ६० वर्षमाथिका १० देखि १५ जनासम्म दिनहँु खोप लगाउन आउने गरेका छन् । यो संख्या बिस्तारै बढ्दै गएको छ ।
हाल हाम्रो मुलुकमा बूढापाकाहरूको मृत्यु सबैभन्दा बढी श्वासप्रश्वाससम्बन्धी रोग, निमोनियाले हुने गरेको छ । पाटन अस्पतालको तथ्यांकअनुसार, दम बल्झँदै गएर मृत्यु हुनेसमेत बढी छन्, दम भएकाहरूमा निमोनिया थपिने सम्भावनासमेत हुन्छ । बूढापाकाहरूमा मुटु, कलेजो, मृगौला, फोक्सोसम्बन्धी दीर्घरोग, क्यान्सर लगायतले मृत्यु हुने गरेको देखिन्छ ।