काठमाडौं, ६ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले मुलुकको समृद्धिका लागि पूर्वाधार विकासमा जोड दिएको बताएका छन् । मन्त्री महासेठले मुलुकलाई समृद्ध बनाउने सपनालाई सरकार पार्न वर्तमान सरकार विकास, निर्माणको कामलाई अघि बढाउन कटिबद्ध रहेको स्पष्ट पारे ।
भारतीय उद्योग परिसंघ मुख्य प्रयोजक रहेको ‘सिआईआई कन्म्याक २०१८’ नाम दिइएको निर्माण उपकरण सम्बन्धि प्रदर्शनीको बिहीबार भक्तपुरको सल्लाघारीस्थित ओपन ग्राउन्डमा उद्घाटन गर्दै उनले नेपालको समृद्धिका लागि भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई सरकारले सुमधुर बनाएको स्मरण गराए ।
मन्त्री महासेठले नेपालले जलमार्ग र रेल मार्ग संचालनका लागि भारत सरकारसँग मिलेर काम गरिरहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले नेपाललाई समृद्ध बनाउन भारत जस्तोसुकै सहयोग गर्न पनि प्रतिवद्ध रहेको बताए । उनले भारतीय निर्माण कम्पनीसँगको सहकार्यबाट नेपालले निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न सक्ने स्पष्ट पारे ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा १ सय ५० जनाभन्दा बढि प्रदर्शकहरुले २ लाख ५० हजार बर्गफिट क्षेत्रफलको आयोजना स्थलमा आफ्ना उपकरण तथा प्रविधिहरुको प्रदर्शन गरेका छन् ।
नेपालस्थित भारतीय दुतावासको सहकार्यमा आयोजना गरिएको सो निर्माणसम्बन्धि प्रदर्शनीबाट नेपालमा अभाव हुने निर्माण सामग्री सहज रुपमा पूर्ति हुने गर्न वातावरण तय हुने अपेक्षा गरिएको छ ।