धनुषा, ३१ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षण गरेका छन् ।
सो क्रममा मङ्गलबार भारतको जयनगर पुगेका मन्त्री महासेठले नेपाल र भारतका सञ्चारकर्मीसँगको भेटमा भने, “नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दुवै सरकारबीचको सम्बन्ध सुमधुर छ ।”
उनले नेपाल–भारतबीचको सम्बन्ध कूटनीतिकभन्दा पनि रोटीबेटीको सम्बन्ध भएको र हालका दिनमा अझ सुमधुर भएको बताए । मन्त्री महासेठले यसका अतिरिक्त भारत सरकारको सहयोगमा निजगढ–काठमाडौँ रेलमार्गसँगै हुलाकी राजमार्गलगायतका अनेकौँ योजनामा काम भइरहेको बताए ।
मन्त्री महासेठसँगै रेल विभागका डीजी बलराम मिश्र, भारतीय निर्माण कम्पनी एरकोनका प्रमुख रवि सहाय, धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली रेलमार्गबाट जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको यात्रा समेत गरे ।




