हात्तीले पाँच घर भत्कायो | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

हात्तीले पाँच घर भत्कायो

hatti

महेन्द्रनगर,  २७ असोज ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीले वितण्डा मच्चाउन थालेको छ। हात्तीको बथानले बिहीबार राति शुक्लाफाँटा नगरपालिका क्षेत्रका ५ घर भत्काएको छ भने किसानको धानबाली नष्ट गरिदिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट गाउँ पसेको हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ र १२ का ५ घर भत्काएको हो।

हात्तीले वडा नम्बर १ का पार्वती सार्की, धनवीरे सार्की र मोहन विक र वडा नम्बर १२ का सन्तराम राना र सन्तु रानाको घर भत्काएको छ। हात्तीले अन्नबालीसमेत खाइदिएको छ। ‘रात पर्ने बेला ठूलै बथान जंगलबाट आएर घर भत्काउन थाल्यो’, शुक्लाफाँटा १ की पार्वती सुनारले भनिन्, ‘हात्ती आएको थाहा पाएपछि बालबच्चा जोगाउन सक्यौं।’

उनको घरसँगै अन्य २ घरसमेत हात्तीले भत्काएको छ। ‘चाडबाड आएकै बेला घर भत्काएर अन्नबालीसमेत सबै सखाप पार्‍यो’, उनले रुँदै भनिन्। ‘कहाँ गएर बस्ने र के खाने चिन्ताले सताएको छ।’ हात्तीले भत्काएका ५ वटै घर बाढीपीडित परिवारका हुन्। ‘१५/२० वटाको बथान नै आएर घर भत्काउँदै धानबाली नष्ट गर्न थाल्यो’, स्थानीय मोहन विकले भने, ‘बिहीबार राति हात्तीको बथानले नगरपालिका क्षेत्रका वडामा धेरै क्षति पुर्या‍एको छ।’

‘दसैंकै बेला काट्नुपर्ने अवस्थाको धानबाली हात्तीले नष्ट गर्‍यो’, शुक्लाफाँटा १ का कलावती भट्टले भनिन्, ‘यसै धानबाली नै हो खाने र घरखर्च चलाउने माध्यम अब के गरेर केटाकेटी पाल्ने होला ? ’ केही समयदेखि जंगली हात्तीले यस नगरपालिका क्षेत्रमा वितण्डा मच्चाइरहेको छ’, शुक्लाफाँटा नगरपालिका नगरप्रमुख दिलबहादुर ऐरले भने, ‘बिहीबार राति त ६ वटा घर नै भत्कायो र धेरै क्षेत्रफलमा लगाइएको धानबालीसमेत नष्ट गरेको छ।’ उनका अनुसार १ नम्बर वडामा रहेको सिद्धबैजनाथ विद्यालयको पर्खालसमेत हात्तीले भत्काएको छ।

हात्तीले शुक्लाफाँटा नगरपालिकाको १, २, ७, ८, ९, १०, ११ र १२ नम्बर वडामा केही समयदेखि क्षति गरिरहेको नगरपालिकाले जनाएको छ। स्थानीयले हात्ती नियन्त्रण, क्षतिपूर्ति र रातह माग गरेका छन्। हात्तीले घर र धानबाली नष्ट गरेपछि प्रदेशसभा सदस्य लालबहादुर खड्का, शुक्लाफाँटाका नगर प्रमुख दिलबहादुर ऐरलगायतले स्थलगत निरीक्षण गरेका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);