काठमाडौं, ११ भदौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जनताको जीवनस्तरमाथि उठाउन प्रतिवद्ध भएर लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
सभामुख महराले समृद्धिका लागि उत्पादन बढाउनुको विकल्प नरहेको स्पष्ट पारे । सोमबार रुकुम पूर्वस्थित ‘भूमे गाउँपालिकाको वृत्तचित्र तथा चिनारी’ नामक पुस्तकको काठमाडौंमा विमोचन गर्दै उनले रुकुम पूर्वको समृद्धिमा त्यहाँका जनप्रतिनिधिहरुसँग एउटै आवाजका साथ आफू पनि अघि बढने आश्वासन दिए ।
सभामुख महराले रुकम पूर्वको विगतको गुरिल्ला युद्ध, संस्कृति र प्राकृतिक सम्पदालाई विश्वकै सम्पदाको रुपमा स्थापित गराउन सकिने सम्भावना रहेको बताए । तत्कालीन माओवादी जनयुद्धको सुरुवात भएको रुकम जिल्लालाई गुरिल्ला युद्धको उद्गम स्थलको रुपमा लिने गरिन्छ ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले रुकुम पूर्वमा गुरिल्ला पर्यटन विकासका लागि सरकारले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
उनले सो पर्यटनका लागि सरकारले यस वर्ष पनि बजेटको व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई बहुवर्षीय योजनाको रुपमा अघि बढाउने घोषणा गरे । कार्यक्रममा रुकुम पूर्वका जनप्रतिनिधिहरुले रुकुम पूर्वलाई गुरिल्ला पर्यटनको रुपमा विकास गर्न सरकारसँग माग गरेका थिए ।