एजेन्सी, ८ साउन । प्राकृतिक विपत्तिले ग्रीस र भियतनाम प्रताडित बनेका छन् । ग्रीसमा एक दशकयताकै भयानक आगलागी भएको छ । त्यसबाट ६० भन्दा बढी मानिसको मृत्यु भएको छ । भियतनाममा आँधी, बाढी र भूक्षयका कारण २७ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी बेपत्ता भएका छन् । करिब सात हजार बढी परिवार घरविहीन भएका छन् ।
भियतनाममा आएको प्राकृतिक विपत्ति, आँधिबेरी बाढी र भुक्षयका कारण जनजीवन कष्टकर बनेको छ । समुद्री आँधि पछि आएको बाढी र पहिरोमा परेर २ दर्जन भन्दा बढिले ज्यान गुमाएका छन् । सयभन्दा बढी बेपत्ता भएका छन् ।
बेपत्ताहरुको खोजि कार्य भैरहेको छ । बर्षा र बाढीका कारण उद्धारमा कठिनाइ भए पनि रेडक्रस लगायत विभिन्न संस्थाहरु उद्धारमा जुटेका छन् । मंगलबार र बुधबार हावा सँगसँगै ठूलो पानी पर्ने त्यहाँको मौसम विभागका अधिकारीलाई उद्धृत गर्दै भियतनामी सञ्चार माध्यमहरुले जनाएका छन् । बाढीका कारण सैयौँ घरहरु नष्ट भएका छन् भने करिब ७ हजार घर डुबानमा परेको जनाइएको छ ।
राहतका लागि पीडितहरु हारगुहार गरिरहेका छन् । खराब मौसमका कारण चाहे जस्तो राहत पुरयाउन नसकेको उद्धारमा संलग्न व्यक्ति र संघ संस्थाहरुको भनाई छ । समुद्री आँधिका कारण यस्ता समस्याबाट भियतनामी जनता बेलाबखत पीडित हुँदै आएका छन् । ८१ हजार हेक्टर धान खेत बाढीका कारण डुबेको अधिकारीहरुले बताएका छन् ।
एथेन्समा भीषण आगलागी
उता ग्रीसको राजधानी एथेन्स नजिकैैको जंगलमा आगालागी हुँदा ठूलो जनधनको क्षति पुयाएको छ । एक दशक यताकै भयानक आगलागीमा परी ६० भन्दा बढी मानिसको मृत्यु भएको अधिकारीले जनाएका छन् । उद्धारकर्मीहरु वारुण यन्त्र र हेलिकप्टर प्रयोग गरि राहतमा जुटेका छन् । आगलागीको घटनामा सैयौँ मानिस घाइते भएका छन् । आगो निभाउन ग्रीसले अन्तर्राष्ट्रिय सहयोग मागेपछि इटली, जर्मनी र फ्रान्सले उद्धार टोली त्यसतर्फ पठाएको छ ।