रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २७ २०८३, शुक्रबार

रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी

रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक पहलसँगै अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदान गर्ने तयारी अघि बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले प्रस्तावित आदानप्रदानबाट हजारौँ युद्धबन्दी आफ्ना परिवारसँग पुनर्मिलन हुन सक्ने बताउनुभएको छ।

कुशनरले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत रुस र युक्रेनबीच युद्धका क्रममा अहिलेसम्मकै ठूलो युद्धबन्दी आदानप्रदान गर्ने दिशामा काम भइरहेको जानकारी दिनुभएको हो। उहाँले भन्नुभएको छ, “हामी युद्धकै सबैभन्दा ठूलो युद्धबन्दी आदानप्रदानतर्फ पनि काम गरिरहेका छौँ, जसबाट सम्भवतः हजारौँ मानिस आफ्ना परिवारसँग पुनर्मिलन हुन सक्नेछन्।” उहाँले आदानप्रदानमा सहभागी हुने युद्धबन्दीको सङ्ख्या वा त्यसको निश्चित मिति भने खुलाउनुभएको छैन।

संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रुस, युक्रेन र अमेरिकाका प्रतिनिधिबीच भएको दुईदिने वार्तापछि यस्तो पहल अघि बढेको हो। नौ महिनापछि भएको प्रत्यक्ष अमेरिकी मध्यस्थतासहितको उक्त वार्तामा युद्धबन्दी आदानप्रदानका विषयमा सहमति बने पनि युद्ध अन्त्य गर्ने राजनीतिक समाधानमा ठोस प्रगति हुन सकेन। वार्तामा अमेरिकी पक्षबाट कुशनर र विशेष दूत स्टिभ विटकफ सहभागी हुनुहुन्थ्यो। अबुधाबी वार्तापछि अमेरिकी प्रतिनिधिहरूले बिहीबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए। भेटमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित उपाय, युद्धपछिको सुरक्षा व्यवस्था र दुवै पक्षका चासोका विषयमा छलफल भएको बताइएको छ। त्यसपछि अमेरिकी प्रतिनिधिहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको थियो।

कुशनरका अनुसार अब हुने वार्तामा युरोपेली देशहरूलाई समेत सहभागी गराउने विषयमा रुस र युक्रेनबीच सहमति बनेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि वार्तामा युरोपको सहभागितालाई सकारात्मक रूपमा लिनुभएको छ। उहाँले आगामी छलफलमा युद्धविराम र द्वन्द्व मत्थर पार्ने विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको छ। कुशनरले आगामी वार्तामा युरोपेली साझेदारको सहभागिताले युक्रेन र रुसबीचको क्षेत्रीय विवादसँगै युद्धपछिको युरोपेली सुरक्षा व्यवस्थाबारे पनि व्यापक छलफल गर्न सहयोग पुग्ने बताउनुभएको छ। तर रुसले युरोपेली देशहरूको प्रत्यक्ष सहभागिताप्रति असन्तुष्टि जनाउँदै आएको छ। युद्धपछि युक्रेनमा युरोपेली सैनिक तैनाथ गर्ने सम्भावनालाई पनि मस्कोले अस्वीकार गर्दै आएको छ।

युद्ध अन्त्यका मुख्य विवाद यथावत्

युद्धबन्दी आदानप्रदानमा सहमति बन्नुलाई द्वन्द्वका बीच मानवीय दृष्टिले महत्त्वपूर्ण प्रगति मानिए पनि यसले युद्ध अन्त्यको बाटो सहज बनाउने निश्चित छैन। रुस र युक्रेनबीच भूभाग, राष्ट्रिय सार्वभौमिकता, युद्धपछिको सुरक्षा प्रत्याभूति र युरोपेली सुरक्षासम्बन्धी विषयमा गम्भीर मतभेद कायमै छन्। रुसले कब्जामा लिएका युक्रेनी भूभागको भविष्य वार्ताको प्रमुख विवादमध्ये एक हो। मस्कोले आफूले नियन्त्रणमा लिएका चार युक्रेनी क्षेत्रमाथिको दाबी कायम राख्दै आएको छ। युक्रेनले भने आफ्नो भूभाग त्यागेर शान्ति सम्झौता नगर्ने अडान दोहोर्‍याउँदै आएको छ। युद्धविरामपछि युक्रेनको सुरक्षाका लागि कस्तो अन्तर्राष्ट्रिय प्रत्याभूति आवश्यक हुन्छ र त्यसमा नेटो तथा युरोपेली देशहरूको भूमिका के रहने भन्ने विषय पनि विवादित छ। रुसले युक्रेनमा नेटोको सैन्य उपस्थिति विस्तार हुन नहुने अडान राख्दै आएको छ भने युक्रेनले भविष्यमा पुनः रुसी आक्रमण हुन नदिन बलियो सुरक्षा प्रत्याभूति आवश्यक रहेको बताउँदै आएको छ।

रुस र युक्रेनबीच यसअघि पनि पटकपटक युद्धबन्दी आदानप्रदान भएका छन्। पछिल्लो पटक अक्टोबर २३ मा दुवै पक्षले २७०–२७० जना युद्धबन्दी आदानप्रदान गरेका थिए। तर यसपटक प्रस्तावित आदानप्रदानको सङ्ख्या सार्वजनिक नभएकाले यसलाई अहिलेसम्मकै ठूलो आदानप्रदान बनाउने तयारी भइरहेको अमेरिकी पक्षको भनाइलाई नै अहिलेको आधार मानिएको छ। युद्धबन्दी आदानप्रदानले दुवै देशका हजारौँ परिवारलाई राहत दिन सक्ने भए पनि त्यसलाई युद्ध अन्त्यको सहमतिका रूपमा बुझ्न मिल्दैन। अबुधाबीमा भएको वार्ता र त्यसपछि मस्कोमा भएको छलफलले कूटनीतिक संवाद पुनः अघि बढेको सङ्केत गरे पनि युद्धको मूल कारण र दुवै पक्षका रणनीतिक अडानबीचको दूरी अझै ठूलो देखिन्छ।

Leave a Reply