एजेन्सी, ९ असार । युरोपेली संघ (इयू) का १६ मुलुकका नेताले आप्रवासी संकटबारे ब्रसेल्समा हुने शिखर सम्मेलनमा भाग लिने संकेत गरेका छन् । आप्रवासीको समस्या समाधानमा कसले पहिले प्रक्रिया थाल्छ भनी विश्वभर चासो बढिरहेका समय इयुका देशका नेताहरूले आप्रवासी संकट सम्बन्धी सम्मेलनमा भाग लिने संकेत गरेका हुन् ।
यूरोपेली आयोगका प्रमुख जाँ क्लाउड जंकरले आप्रवासी शरणार्थीबारे समाधान निकाल्न आइतबार सम्मेलन आयोजना गरेका हुन् । आयोगका प्रवक्ता अलेक्जेन्डर विन्टर्सस्टनले आप्रवासी संकटबारे १६ वटा मुलुक अनौपचारिक छलफल गर्न तयार भएको र शुरुमा आठ मुलुकसँग छलफल गरिने बताए । उनका अनुसार शुरुमा बेल्जियम, नेदरल्याण्ड, क्रोएसिया, स्लोभानिया, डेनमार्क, फिनल्याण्ड, स्वीडेन र लक्जेम्वर्गबीच कुराकानी भएपछि अन्य मुलुकसँग छलफल हुने छ ।
इयू सदस्य राष्ट्रमध्ये ग्रीस र इटालीले सबैभन्दा बढी आप्रबासी समस्या झेलिरहेका छन् । जर्मन चान्सलर एन्गेला मर्केल, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन, स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेज, माल्टाली प्रधानमन्त्री जोसेफ मस्कटले यसअघि नै सम्मेलनमा सहभागिता जनाउने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सम्मेलनमा इटाली र ग्रीस पनि सहभागी हुने बताइएको छ । तर, आप्रबासी समस्या विरोधी मानिने हंगेरी, पोल्याण्ड, चेक रिपब्लिक र स्लोभाकियाजस्ता मुलुकले भने सम्मेलनमा सहभागिता नजनाउने बताइसकेका छन् ।