काठमाडौँ, भदौ १ । सरकारले निर्यातजन्य वस्तुको उत्पादन बढाएर वैदेशिक व्यापार घाटा कम गर्ने योजना अघि सारेको छ ।
बिहीवार ब्यवस्थापिका संसद अन्तरगतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा वाणिज्यमन्त्री मिनबहादुर विश्वकर्माले निर्यातजन्य वस्तुको उत्पादन बढाएर व्यापार घाटा कम गर्दै लैजाने नीति लिइएको बताएका छन् । उहाँले निर्यातजन्य बस्तुको निकासी बढाउन कर छुट र भन्सार दरलाई अझै सुलभ बनाउने तयारी भईरहेको पनि स्पष्ट पारेका थिए ।
हाल भारतसँग मात्रै करिव ६ खर्ब व्यापार घाटा भएको सरकारी तथ्यांक छ । त्यसै गरी चीनसँग १ खर्ब २८ अर्ब रुपैयाँ व्यापार घाटा छ । वाणिज्यमन्त्री विश्वकर्माले निर्यातजन्य बस्तुको उत्पादनमा कमी भएकै कारण व्यापार घाटा हुने गरेकाले प्रभावकारी नीति ल्याउन लागिएको बताएका छन् ।
सरकारले व्यापार घाटा कम गर्न आयात व्यापारलाई कटौति गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्दै आएको छ । मुलुकमा हाल करिव ९ खर्ब ९ अर्ब ३६ करोड रुपैयाँ व्यापार घाटा छ । मन्त्री विश्वकर्माले यस्तो घाटा कम गर्न नेपालले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनुको विकल्प नरहेको पनि बताएका छन् ।




