काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक शान्ति र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताएका छन् । स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न भइ सकेर नयाँ सरकार पनि गठन भइसकेकाले मुलुक स्थिरता तर्फ अघि बढेको प्रधानमन्त्री ओलीको भनाई छ ।
संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले साेमबार आयोजना गरेको ‘सिक्दै गरेको पुस्ता र सिकाईको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्च स्तरीय बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
आधारभुत तह सम्मको शिक्षा अनिवार्य र माध्यमिक तह सम्मको शिक्षा नि:शुल्क
प्रधानमन्त्री ओलीले वर्तमान सरकार समावेशी नीति, समानता, समृद्धि र सामाजिक न्यायका लागि प्रतिवद्ध रहेको बताए । उनले नेपालको संविधानले आधारभुत तह सम्मको शिक्षा अनिवार्य र माध्यमिक तह सम्मको शिक्षा नि:शुल्क गर्ने व्यवस्था गरेको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले भने ‘शिक्षाका अतिरिक्त सवस्थ्य, हेरचाह, व्यक्तित्व विकास, खेलकुद जस्ता कुराहरु हरेक बालबालिकालाई उपलब्ध गराइन्छ ।’
नेपाल बिना भेदभाव बालअधिकार रक्षाकालागि प्रविबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ । ‘नेपाल बाल अधिकार महासन्धीको पक्ष राष्ट्र पनि हो’ प्रधानमन्त्री ओलीले भने ‘त्यसकारण पनि हामी बालबालिकाको शिक्षा पाउने अधिकारलाई उच्च प्राथमिकतामा राख्छौं ।’
प्रधानमन्त्री ओलीले नेपालमा शैक्षिक गुणस्तर वृद्धिका लागि सुचना र प्रविधीको प्रयोग गरिने बताए । प्रधानमन्त्री ओलीले भने ‘सुचना र प्रविधीलाई विद्यार्थी देखि विद्यालय सम्म विस्तार गर्ने सरकारको योजना छ ।’
उनले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सूचना प्रविधिको प्रयोग र अनुसन्धानमा जोड दिन आग्रह गरेका छन् । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणी पोख्रेलको पनि सहभागिता थियो ।