दुनै, ८ बैशाख । डोल्पा जिल्ला अस्पतालमा उपकरण अभावमै पनि जोखिमपूर्ण शल्यक्रिया गरिँदै आएको छ। १५ शैया क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा आवश्यक उपकरणबिनै शल्यक्रिया गर्ने गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ।
जिल्ला अस्पतालमा सामग्री अभाव र फिजिसियन डाक्टर नभएकाले अन्य शल्यक्रिया नहुने र बच्चा जन्माउन नसकेका गर्भवतीहरूको मात्र शल्यक्रिया हुने त्यसमा पनि आवश्यक सामग्री एवं उपकरण नभएको जिल्ला अस्पतालका सूचना अधिकारी तारा बोहराले जानकारी दिइन्। उनका अनुसार जिल्ला अस्पतालमा शल्यक्रियाका लागि छुट्टै जनशक्ति नभएकाले अन्तरंग कक्षका कर्मचारीहरूको सहयोगमा शल्यक्रिया गरिने गरिएको छ।
दैनिक ४० देखि सय जनासम्म बिरामी चेकजाँच हुने र त्यसका लागि उपकरण अभावका कारण निकै कठिन हुने गरेको डक्टर लक्ष्मण नेपालले बताए। उनले भन्ने, ‘आफूले सबै कुरा भन्न मिल्ने अधिकार नभएको कारण बिरामी मात्र चेकजाँच गर्ने गरेको छु, सबै काम डाक्टर एक्लैले गर्नुपर्ने बाध्यता पनि छ।’
तर बिरामीको चापअनुसार औषधिको भने खासै अभाव नदेखिएको, मागअनुसार आपूर्ति भइरहेको जिल्ला अस्पताल फार्मेसी वीरचन्द्र धरालाले जानकारी दिए। उनका अनुसार ७० किसिमका औषधि जिल्ला अस्पतालबाट वितरण हुने भए पनि हाल दैनिक ४५ देखि ६० प्रकारका औषधि वितरण हुने बताए। जिल्ला अस्पतालको आफ्नै फार्मेसी भएको कारण बिरामीले सस्तैमा औषधि किन्न पाउने र दुर्गमका जनतालाई अस्पतालको आफ्नै फार्मेसीले राहत दिएको फार्मेसी धरालाले दाबी गरे।
हरेक दिन गर्भवती र रुघाखोकीका बिरामी बढेकाले ल्याब परीक्षण गराउनेहरूको पनि भीड रहेको अस्पतालले जनाएको छ। त्यसका लागि आवश्यक केमिकल महिनौंदेखि अभाव भएको ल्याब प्राविधिक प्रेमप्रकाश रोकायाले बताए। सय जनासम्म बिरामी चेकजाँच हुने भए पनि त्यसका लागि उपकरण अभावका कारण निकै कठिन हुने गरेको छ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।




