कालिकोट, ८ बैशाख । सुर्खेत–जुम्ला सडकको ट्रयाक खुलेसँगै कर्णालीवासीका लागि कठिन युगको अन्त्य भयो । २०६३ चैत ३० बाट गाडी गुड्न थालेपछि स्थानीयका कष्टका दिन सकिए ।
कर्णालीमा भोक, रोग र अभाव उस्तै छ तर सडकले यी सबै पीडा बिर्साइदिएको छ । सबैका मुहारमा उज्यालो छरिएको छ । एक जिल्लाबाट अर्को जिल्ला पुग्न होस् वा व्यापार व्यवसाय गर्न, सबैलाई जोड्ने काम सडकले नै गरेको छ ।
सडक खुलेपछि जीवनमा सबैभन्दा ठूलो खुसी मिलेको अनुभूति गरेका छन्, कालीकोटको खाँडाचक्र नगरपालिका ९, पांखाका तिलप्रसाद अधिकारीले । ‘पहिला दु:खैदु:ख थियो,’ उनले भने, ‘जब बाटो खुल्यो, सडकमा गाडी गुड्न थाले, विस्तारै सुखका दिन सुरु भए ।’ पहिला दु:ख गरेर लगाएको स्याउ, सिमी, आलु खेर जान्थ्यो । कहाँ लगेर बिक्री गर्ने भन्ने पीरलो हुन्थ्यो ।
‘अहिले यो समस्या छैन,’ उनले भने, ‘उत्पादित तरकारी, फलफूल मान्म बजार लगेर बिक्री गर्छौं ।’ पहिले बर्दियाको राजापुर बजारबाट एक बर्षका लागि नुन, मट्टितेल, कपडा, जुत्ताचप्पल र खाद्यान्न बोकेर ल्याउनुपर्ने बाध्यता थियो । घर आइपुग्न २२/२३ दिन लाग्थ्यो । अहिले अहिले डेढ दिनमै राजापुर पुगिन्छ । अधिकारीका अनुसार लेकतिर स्याउ प्रशस्तै हुन्छ । सडकले गर्दा बिक्रीमा समस्या छैन । बजार पुर्याएपछि किसानले राखेको मूल्यमै बिक्री हुन्छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




