एजेन्सी , ४ चैत । इङ्लिस प्रिमियर लिगमा लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । वाटफोर्डलाई ५–० को फाराकिलो अन्तरले पराजित गर्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको हो ।
लिभरपुलको जितमा मोहम्मद सलहले ४ गोल गरे । खेलको चौंथो मिनेटमा गोलको खाता खोलेका सलहले ४३, ७७ र ८५ औं मिनेटमा थप गोल गरे । लिभरपुलका लागि अर्को गोल रोबर्टो फिरमिनोले गरे । फिरमिनोले सलहकै पासमा गोल गरेका हुन् । लिभरपुलको ३१ खेलबाट ६३ अंक भएको छ ।
वाटफोर्डविरुद्धको चार गोलसँगै जारी प्रिमियर लिगमा सलहले आफ्नो गोल संख्या २८ पुर्याएका छन् । त्यस्तै युरोपकै शीर्ष गोलकर्तामा पनि सालाह शीर्षस्थानमा उक्लेका छन् । अहिलेसम्म सबै प्रतियोगितामा सालाहको ३६ गोल रहेको छ ।
प्रिमियर लिगमा गएराति भएका अन्य खेलमा एभर्टन, बर्नमाउथ र क्रिस्टल प्यालेस विजयी भएका छन् ।