काठमाडौँ ।
मकवानपुरमा बिहीवार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–१ भैँसेमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चुरियामाई र रातमाटेको बीच जंगल क्षेत्रमा ईभी गाडी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो । बिहीवार बिहान करिव ८ः३० बजे चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिव १० मिटर तल भैँसे खोलामा खसेको थियो । दुर्घटनामा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही स्थानकी २०÷२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा सुमो चालकसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा सुमो चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रनिगाहपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन् । घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाएलगत्तै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । त्यसैगरी, चुरियामाई र रातमाटेको बीच जंगल क्षेत्रमा ईभी गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको वागमती प्रदेश ०१–००६ ख ९८३६ नम्बरको ईभी गाडी र बागमती प्रदेश ०२–०३७ प ८५२८ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न बाँकी रहेको छ । मकवानपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएका छन् । गत कात्तिक २६ गते मात्रै भीमफेदी गाउँपालिकामै भएको अर्को सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो ।




