पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा बिहीबार एक विद्यालयको छत भत्किँदा ३३ जनाको मृत्यु भएको छ । पेशावरस्थित लेडी रिडिङ अस्पतालकाअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा अधिकांश बालबालिका रहेका छन् । पेशावरको दिर कोलोनीस्थित दुई तले विद्यालय भवनको छत भारी वर्षाका कारण भत्किएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्थानीय उद्धार सेवा ‘रेस्क्यू ११२२’ का प्रवक्ता बिलाल अहमद फैजीकाअनुसार विद्यालयको छत खस्दा भवनभित्र रहेका विद्यार्थीहरू पुरिएका थिए । अस्पताल प्रशासनका अनुसार ५३ जना घाइतेलाई उपचारका लागि ल्याइएकामा ३३ जनाको अस्पताल पु¥याउँदा वा उपचारका क्रममा मृत्यु भइसकेको थियो ।
अस्पतालको तथ्यांकअनुसार मृतक र घाइतेहरूमा चारदेखि १४ वर्षसम्मका बालबालिका र एक २५ वर्षीया महिला रहेका छन् । १७ जना घाइतेलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ भने तीन जनाको अझै अस्पतालमा उपचार भइरहेको छ । घटनापछि सो क्षेत्रमा शोकको माहोल छाएको छ भने स्थानीय प्रशासनले उद्धार कार्यलाई तीव्र बनाएको थियो ।
घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न र देशभरका शिक्षण संस्थाहरूको भवन सुरक्षा मापदण्डबारे व्यापक छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
यसैगरी प्रधानमन्त्री शहबाज सरिफले तत्काल राहत र उद्धारका लागि पहल गर्न र पीडितहरूलाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन सरकारी संयन्त्रलाई आदेश दिनुभएको छ । खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्डीले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न निर्देशन दिनुभएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।




