पाकिस्तानको खैबर पख्तुनख्वामा दुईवटा बम विष्फोटः सात जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

पाकिस्तानको खैबर पख्तुनख्वामा दुईवटा बम विष्फोटः सात जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा दुईवटा निजी सवारी साधनलाई लक्षित गरी गरिएका दुई क्रमिक विष्फोटमा परी सात जनाको मृत्यु भएको छ । प्रहरी स्रोतकाअनुसार उक्त घटनामा अन्य तीन जना घाइते भएका छन् । पहिलो विष्फोट खैबर पख्तुनख्वाको बन्नु जिल्लामा स्थानीय समयअनुसार बिहान ५ः२० बजे भएको थियो । दुर्गम क्षेत्रमा रिमोट कन्ट्रोलमार्फत एउटा सवारी साधनलाई लक्षित गरी विष्फोट गराइएको प्रहरीले जनाएको छ । पहिलो विष्फोटका घाइतेहरूलाई उद्धार गरी अस्पताल लैजाने क्रममा करिब एक किलोमिटरको दूरीमा दोस्रो विष्फोट भएको थियो । घटनालगत्तै उद्धार टोलीले मृतकको शव र घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पु¥याएका थिए । सुरक्षा बल र कानुन कार्यान्वयन गर्ने निकायहरूले उक्त क्षेत्रलाई घेरा हाली प्रमाण संकलन गर्नुका साथै अनुसन्धान शुरु गरेका छन् । स्रोतकाअनुसार मृतक र घाइते सबै स्थानीय हात्ती खेल जनजातिका सदस्य हुन् । यस जनजातिका सदस्यहरू प्रतिबन्धित आतंककारी समूह तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) को प्रभावलाई कम गर्न गठित स्थानीय शान्ति समितिमा आबद्ध रहेका थिए । हालसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन, तर विद्रोही विरोधी गतिविधिमा संलग्न भएकै कारण उनीहरूलाई लक्षित गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यस क्षेत्रमा थप विष्फोटक पदार्थ हुनसक्ने आशंकामा सुरक्षा निकायले व्यापक खानतलासी अभियान (सर्च अपरेशन) जारी राखेको छ । यसैबीच, पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज सरिफले उक्त आक्रमणको कडा निन्दा गरेका छन् । उनीहरूले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै आक्रमणकारीहरूलाई कानूनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply