साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी यमनको हुथी विद्रोही समूहले गरेको भीषण आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् । शनिवार दिउँसो भएको उक्त आक्रमणपछि विमानस्थलका नियमित उडानहरू अस्थायी रूपमा बन्द गरिएका छन् भने घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (गाका) ले आईतवार बिहान जारी गरेको विज्ञप्तिअनुसार ज्यान गुमाउनेहरूमा चार जना साउदी नागरिक र आठ जना विदेशी नागरिक रहेका छन् । विदेशी मृतकहरूमा दुई जना बंगलादेशी तथा संयुक्त राज्य अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक जना नागरिक रहेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने चिकित्सकहरूलाई उद्धृत गर्दै जनाइएको छ । आक्रमणका कारण विमानस्थलको भौतिक संरचनामा भएको क्षतिको मूल्यांकन र सुरक्षा परीक्षण पूरा नभएसम्मका लागि सबै उडान सेवाहरू स्थगित गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । उक्त आक्रमणलगत्तै हुथी समूहले विज्ञप्ति जारी गर्दै विमानस्थल, बन्दरगाह र मानवीय सेवा प्रवाह हुने संवेदनशील पूर्वाधारहरूलाई सैन्य द्वन्द्वबाट बाहिर राख्न आफूहरू साउदी अरेबियासँग पारस्परिक सम्झौताका लागि तयार रहेको दाबी गरेको छ । यता, रियाद आक्रमणको जवाफमा साउदी अरेबियाले हुथी नियन्त्रित यमनको राजधानी सानास्थित अन्तर्राष्ट्रिय विमानस्थल, रणनीतिक महत्त्वको बाब अल–मन्दाब जलडमरूमध्य क्षेत्र र उत्तरी प्रान्तहरूमा तीव्र हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको छ । हुथीद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले साउदी गठबन्धनले व्यापक स्तरमा बमबारी गरेको जनाएको छ । यसैबीच, यमनको सरकारी सेनाले पछिल्लो २४ घण्टामा भएका १ हजार ९ सयभन्दा बढी प्रहारहरूमा १ हजार १५० भन्दा बढी हुथी लडाकुहरू मारिएको र १८० भन्दा बढी सैन्य तथा बन्दोबस्तीका सवारी साधन नष्ट गरिएको दाबी गरेको छ । यद्यपि, स्वतन्त्र स्रोतहरूबाट यी तथ्यांकहरूको पुष्टि हुन सकेको छैन।्ल्लयमनको दक्षिण–पश्चिमी शहर ताइज वरपर हुथी विद्रोहीहरूको तिब्र अग्रसरताले सरकारी सुरक्षा निकायमाथि थप दबाब सिर्जना गरेको छ । सन् २०१४ को अन्त्यतिर हुथीहरूले राजधानी साना कब्जा गरेपछि शुरु भएको यमन द्वन्द्वमा सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले हस्तक्षेप गरेको थियो । सन् २०२२ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामपछि ठूला सैन्य गतिविधि रोकिए पनि पछिल्लो आक्रमण–प्रत्याक्रमणले मध्यपूर्वमा पुनः गम्भीर संकट निम्त्याएको छ ।




