काठमाडौं, १५ फागुन । सरकारमा सहभागताको विषयमा निर्णय लिन संघीय समाजवादी फोरमले आन्तरिक छलफललाई तिब्रता दिएको छ । सरकारमा सहभागिताबारे निर्णय लिन आज फोरमका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुट्दै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधान संशोधनमा सकारात्मक देखिएपछि फोरम सरकारमा सहभागि हुन लागेको हो । प्रधानमन्त्री ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएसँगै फोरम सरकारमा सहभागि हुने तयारीमा छ । तर, फोरम भित्र सरकारमा सहभागी हुने विषयमा मतभेद देखिएको छ ।
संविधान संशोधनमा सरकारको लिखित प्रतिवद्वता आए मात्र सरकारमा सहभागी हुनुपर्ने पक्षमा फोरमका अधिकांश नेताहरु उभिएका छन् । सरकारमा सहभागी हुने विषयमा फोरमभित्र सहमति बनेमा आजै प्रधानमन्त्री ओलीसँग मन्त्रालयका बारेमा छलफल हुने छ । ओलीले फोरम अध्यक्ष उपेन्द्र यादव नै सरकारमा सहभागी भएमा परराष्ट्र मन्त्रालय दिने तयारी गरेका छन् ।