लिबियामा विगत ६ हप्तादेखि जारी विद्युत र इन्धन संकटका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ । ऊर्जा र खानेपानीको अभावले सर्वसाधारणको दैनिक कामकाज र व्यवसायमा गम्भीर असर पु¥याएको छ । राजधानी त्रिपोलीका ४९ वर्षीय ट्रक चालक अहमद अल–सरिफका लागि आफ्नो सवारी साधन सञ्चालन गर्नु अहिले मुख्य चुनौती बनेको छ । छ जनाको परिवार पाल्ने एकमात्र स्रोतका रूपमा रहेको आफ्नो ट्रक डिजेल अभावकै कारण उनले विक्री गर्ने सोच बनाइरहेका छन्। ४० डिग्री सेल्सियसको चर्को गर्मीमा इन्धन स्टेशनबाहिर लामो लाइनमा बसेका सरिफले सिन्ह्वा समाचार एजेन्सीसँग कुरा गर्दै भने, ‘डिजेलका लागि दुईदेखि तीन दिनसम्म पर्खनुपर्छ। त्यसमाथि विद्युत् कटौती भएपछि पम्पहरू चल्दैनन् र हाम्रो पर्खाइ अनिश्चित बन्छ ।’
लिबियामा इन्धनको कालोबजारी अर्को ठूलो समस्याका रूपमा देखापरेको छ । आधिकारिक अनुदानित मूल्यभन्दा झण्डै ५० गुणा बढी मूल्य तिरेर कालोबजारीमा एक लिटर डिजेलको ८ लिबियाली दिनार (करिव १.२६ अमेरिकी डलर) सम्म पुगेको छ । महँगो मूल्यमा इन्धन किनेर ढुवानी व्यवसाय गर्दा खर्च समेत नउठ्ने गुनासो चालकहरूको छ ।
ऊर्जा संकटको प्रभाव व्यापारिक क्षेत्रमा पनि उत्तिकै देखिएको छ। त्रिपोलीका एक सुपरमार्केट सञ्चालक ३२ वर्षीय खालिद इब्राहिमले दैनिक १० घण्टाभन्दा बढी हुने विद्युत कटौतीका कारण फ्रिजमा राखिएका सामानहरू बिग्रिएर ठूलो नोक्शानी व्यहोर्नुपरेको बताए । यस्तै, ‘ग्रेट म्यान–मेड रिभर’ भनिने पाइपलाइन प्रणालीमा आएको अवरोधले खानेपानी आपूर्ति समेत बन्द भएको छ। खानेपानीकै अभावमा त्रिपोलीका धेरै क्याफे र साना व्यवसायहरू बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
यस संकटका विरुद्ध देशका विभिन्न भागमा विरोध प्रदर्शनहरू समेत भएका छन् । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरोध सिर्जना गर्नुका साथै सरकारी भवनहरू घेराउ गरेका छन्। यद्यपि, लिबियाको सरकारी विद्युत् कम्पनीका अध्यक्ष बशिर अल–मराशले आगामी दुई हप्ताभित्र विद्युत संकट समाधान हुने आश्वासन दिएका छन् ।
अफ्रिकाकै ठूलो कच्चा तेल भण्डार भएको देश भए तापनि लिबिया प्रशोधन क्षमताको अभावका कारण इन्धनका लागि आयातमा निर्भर छ । सरकारी इन्धन वितरण कम्पनी ‘ब्रेगा’का प्रवक्ता अहमद अल–मसाल्लातीका अनुसार होर्मुज जलसन्धिमा देखिएको ढुवानी अवरोध र विश्वव्यापी ऊर्जा संकटका कारण इन्धन आपूर्तिमा ढिलाइ भएको हो । साथै, विद्युत कटौतीका कारण स्थानीय प्रशोधन केन्द्र (जाविया रिफाइनरी) को उत्पादनमा आएको ह्रासले पनि समस्या थपिएको उनले बताए ।
ऊर्जा विज्ञ तारिक अल–तरौनीकाअनुसार लिबियाको यो समस्या केवल उत्पादनमा मात्र सिमित नभई समग्र ऊर्जा प्रणालीको व्यवस्थापनमा देखिएको कमजोरी हो। उनले दिगो समाधानका लागि ऊर्जा प्रणालीको पुनर्संरचना, विविधिकरण र प्रभावकारी माग व्यवस्थापनमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।




