काठमाडौं । आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ ।
विभागले भदौ ९ गतेदेखि यसको शुरुवात गरेको हो । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालकाअनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साविकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ । ‘डिजाइन ड्रिभन डेभलपमेण्ट’ पद्धति र ‘माइक्रो सर्भिस आर्किटेक्चर’ मा आधारित भएर यो पोर्टल विकास गरिएको हो । अन्तःशुल्कजन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजश्व कार्यालयबाट मात्रै रुजु हुने गरेकोमा अब करदाता स्वयंले रुजु गर्नसक्ने व्यवस्था मिलाइएको छ । आय विवरण (डे–०४) अन्तर्गत साविकमा अनुसूची १० मा करदाताले विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी अब उक्त विवरण स्वतः आउने व्यवस्था गरिएको छ । स्रोतमा कट्टी भएको करको विवरण मासिक रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । विदेशी लगानीकर्ताहरूले स्थायी लेखा नम्बर दर्ताका लागि अनलाइनमार्फत निवेदन दिनसक्ने व्यवस्था गरिएको छ । करदाताले आफ्नो स्थायी लेखा नम्बर कार्ड, अन्तःशुल्क इजाजत र करचुक्ता प्रमाणपत्र पोर्टलमा ‘लग–इन’ गरी आफैँ डाउनलोड गर्न सक्नेछन् । मूल्य अभिवृद्धि कर विवरण संशोधन सम्बन्धी सेवा पोर्टलमा समावेश गरिएको छ ।
परीक्षणका क्रममा रहेकोले यो पोर्टल प्रयोग गर्दा केही समय सामान्य प्राविधिक समस्याहरू आउन सक्नेप्रति विभागले सजगता अपनाएको छ । करदाताको सुविधालाई मध्यनजर गर्दै पोर्टलको डिजाइनमा सरलता ल्याउने र आवश्यक थप सुविधाहरू पहिचान गरी छिट्टै व्यवस्थापन गर्ने प्रतिवद्धता महानिर्देशक डा. भुसालले व्यक्त गर्नुभएको छ ।




