पाकिस्तानी उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इशाक डारले अमेरिकाका कार्यवाहक राजदुत (चार्ज डी’अफेयर्स) नेटली ए. बेकरसँगको भेटवार्तामा गत जुन १८ मा हस्ताक्षर गरिएको ‘इस्लामावाद समझदारी पत्र’ लाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । शुक्रवार इस्लामावादमा भएको उक्त भेटवार्तापछि पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मन्त्री डारले उक्त समझदारीलाई अक्षरसः पालना गर्नु नै अगाडि बढ्ने एकमात्र मार्ग भएको उल्लेख गर्नुभयो । उहाँले पाकिस्तान आफ्नो राष्ट्रिय हितको संरक्षण गर्दै क्षेत्रीय शान्ति र सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको कुरा पुनः स्पष्ट पार्नुभयो । भेटका क्रममा पाकिस्तान र अमेरिकाबीचको द्विपक्षीय सहयोगका विविध आयाम र हालैका क्षेत्रीय घटनाक्रमहरूका बारेमा विस्तृत छलफल भएको थियो । मन्त्री डारले दुई देशबीचको सम्बन्धमा देखिएको सकारात्मक लयप्रति सन्तोष व्यक्त गर्दै दिगो शान्ति प्राप्तिका लागि संवाद र कुटनीतिको महत्वमाथि विशेष जोड दिनुभयो । सो अवसरमा अमेरिकी कार्यवाहक राजदुत बेकरले क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धनमा पाकिस्तानले निर्वाह गरेको रचनात्मक भूमिकाको सराहना गर्नुभयो । साथै, उहाँले अगस्ट १४ मा मनाइएको पाकिस्तानको स्वतन्त्रता दिवसका अवसरमा मन्त्री डारलाई शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।




