इजरायली विस्फोटले कुटनीतिक प्रयास र प्रश्तावित सम्झौतामा चुनौती थपेको लेबनानी राष्ट्रपतिको भनाइ | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

इजरायली विस्फोटले कुटनीतिक प्रयास र प्रश्तावित सम्झौतामा चुनौती थपेको लेबनानी राष्ट्रपतिको भनाइ

लेबनानी राष्ट्रपति जोसेफ आउनले दक्षिण लेबनानमा इजरायलद्वारा गराइएका शक्तिशाली विस्फोटहरूले विद्यमान फ्रेमवर्क सम्झौताको कार्यान्वयनमा गम्भीर अवरोध सिर्जना गरेको बताउनु भयो । रोममा आयोजना हुन लागेको त्रिपक्षीय बैठकको पूर्वसन्ध्यामा भएका यी आक्रमणहरूले कुटनीतिक वार्तालाई जोखिममा पारेको उहाँको ठहर छ । शुक्रवार एक आधिकारिक वक्तव्य जारी गर्दै राष्ट्रपति आउनले भन्नुभयो, ‘त्रिपक्षीय फ्रेमवर्क कार्यान्वयनका विषयमा छलफल गर्न रोममा तय भएको सत्रको ठीक अगाडि यी आक्रमणहरू हुनुले नकारात्मक सन्देश प्रवाह गरेको छ । यसले स्थिरता सुदृढ गर्ने उद्देश्यले भइरहेका अन्तर्राष्ट्रिय प्रयासहरूलाई कमजोर बनाएको छ ।’
लेबनानको सरकारी समाचार एजेन्सीकाअनुसार शुक्रवार बिहान दक्षिण लेबनानको ऐतिहासिक ब्यूफोर्ट क्यासल वरपर इजरायलले शक्तिशाली विस्फोट गराएको थियो । उक्त विस्फोटका कारण नजिकैका सर्वसाधारणका घरहरूमा क्षति पुगेको छ भने दक्षिण लेबनानका ठूला हिस्सामा यसको कडा धक्का महशुस गरिएको थियो ।
राष्ट्रपति आउनले इजरायलद्वारा पूर्वाधार र सांस्कृतिक सम्पदाहरूलाई लक्षित गरी भइरहेका निरन्तर आक्रमणको कडा निन्दा गर्नुभयो । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ब्यूफोर्ट क्यासल क्षेत्रमा भएको यस आक्रमणले सर्वसाधारणको सुरक्षा र दक्षिण क्षेत्रका गाउँहरूको स्थिरतामा गम्भीर खतरा पैदा गरेको उहाँले बताउनु भयो ।
लेबनानको नेशनल सेन्टर फर जियोफिजिक्सलाई उद्धृत गर्दै राष्ट्रपतिले उक्त विस्फोटबाट ३.८ म्याग्निच्युडको भूकम्प बराबरको कम्पन उत्पन्न भएको जानकारी दिनुभयो । उहाँले यस घटनालाई खतरनाक उत्तेजना, विद्यमान प्रतिवद्धताहरूको ठाडो उल्लंघन र फ्रेमवर्क सम्झौतामाथिको प्रत्यक्ष प्रहारका रूपमा चित्रण गर्नुभयो ।

Leave a Reply

ताजा समाचार