सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ?

काठमाडौँ ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षा निकायको भुमिकालाई लिएर प्रश्न उठाउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै दाहालले सो घटनामा सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने स्थिति थियो वा थिएन भन्नेबारे विस्तृत अध्ययन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको हो । सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा भएको झडपमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दाहालले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

सो विवादले साम्प्रदायिक विद्वेषको रूप लिन सक्ने भन्दै उहाँले यसतर्फ उच्च शतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री दाहालले देशको वर्तमान राजनीतिक परिस्थितप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ । निर्वाचनका समयमा जनता सामु गरिएका प्रतिवद्धता र प्रकट भएको जनअभिमतअनुसार सरकारका क्रियाकलापहरू अघि बढ्न नसकेको उहाँको टिप्पणी थियो । जनताको अपेक्षा र सरकारको कार्यसम्पादनबीच तालमेल नहुँदा परिस्थिति दिनानुदिन असहज बन्दै गएको उहाँले बताउनु भयो । सदनमा हुने तर्क–वितर्क र फरक मत स्वाभाविक भए तापनि सरकारले जनताको बढ्दो असन्तुष्टि र जटिल बन्दै गएको राजनीतिक अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने दाहालको भनाइ छ ।

Leave a Reply