नेकपा सचिवालयको आजको बैठकमा ओलीले आफ्नो तर्फबाट प्रस्ताव ल्याउने | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

नेकपा सचिवालयको आजको बैठकमा ओलीले आफ्नो तर्फबाट प्रस्ताव ल्याउने

काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेकपाको आज शनिबार १ बजेबाट बस्ने सचिवालय बैठकप्रति आम चासो बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलीले पनि आफ्नो तर्फबाट पनि राजनीतिक प्रस्ताव पेस गर्ने भएकै कारण बैठकप्रति सबैको चासो बढेको हो ।

पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्तावले आफुलाई लाञ्छित गरेको बताउँदै आउनुभएका ओलीले दाहालका आरोपलाई शुरुमै खारेज गर्ने घोषणा गर्दै त्यसको लिखित जवाफ दिने बताउनुभएको थियो ।

बालुवाटार श्रोतले बताए अनुसार, ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नहरु समेटेर त्यसको जवाफ तयार गर्नुभएको छ । जसलाई आजैको सचिवालय बैठमा ओलीले प्रस्तुत गर्दै हुनुहुन्छ ।

बैठकमा ओलीको प्रस्ताव पेस भएपछि दाहालसमूहले त्यसैका आधारमा रणनीति तय गर्ने तयारी गरेको छ । पार्टी भित्र अध्यक्षद्वयको प्रस्तावलाई साझा प्रस्ताव बनाएर अघि बढ्ने प्रयास भई रहेको भएपनि त्यसले मूर्त रुप भने लिन सकेन । ओलीको प्रस्तावपछि पार्टीभित्र कुनै असहजता देखिएमा दाहाल समुहले बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तयारी गरेको पनि बताईएको छ ।

शुरुमा नेकपामा विभिन्न नियुक्तिका बिषयलाई लिएर शुरु भएको विवाद पछि गएर राजनीतिक चलखेलसँगै पार्टी र सरकार सञ्चालनका कारणहरु जोडिएको थियो । जुन यतिबेला फुटको नजिक आईपुगेको छ । त्यही विवादले पछिल्लो समय गत कार्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा दाहालले ओलीविरूद्धको राजनीतिक प्रस्ताव ल्याएपछि भने उग्र आकार ग्रहण गरेको हो ।

दाहालले ल्याएको सो प्रस्तावमा ओली असफल भएको भन्दै ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएपछि उहाँले मंसिर ३ मा बसेको बैठकमा आरोप पुष्टि नभए दाहालले पद त्याग गर्नु पर्नेसमेत चेतावनी दिनुभएको थियो । सोही बैठकले ओलीलाई पनि राजनीतिक प्रस्ताव पेस गर्न १० दिनको समयावधी दिएको थियो भने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति पनि तोकेको थियो ।

सचिवालय बैठकमा विवाद हल नभए जारी विवाद १८ मंसिरको स्थायी कमिटी तथा २५ मंसिरको केन्द्रीय कमीटी बैठकमा पुगेर छिनोफाने गर्न दुबै पक्ष अघि बढेका छन् । त्यसका लागि दुबै पक्षले विभिन्न प्रदेशहरूमा गुटगत भेला पनि गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);