काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेताका रूपमा चिनिने कोईरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो । कोईरालाले नेपालको राजनीतिक परिवर्तन र नेपाली साहित्यको श्रीवृद्धिमा पु¥याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै आज नेपाली काँग्रेस र यसका भ्रातृ संस्थाहरूले देशभर श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरेका छन् । वि.सं. २०१५ को आमनिर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि कोईराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले आफ्नो कार्यकालमा बिर्ता उन्मूलन र ‘जमीन जोत्नेको’ भन्ने क्रान्तिकारी भूमिसुधार कार्यक्रम कार्यान्वयनमा ल्याउनुभएको थियो । राजनीतिसँगै नेपाली साहित्यमा पनि कोईरालाको विशिष्ट स्थान रहेको छ । उहाँका ‘दोषी चश्मा’ (कथा सङ्ग्रह), ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘सुम्निमा’, ‘मोदीआइन’ र ‘हिटलर र यहुदी’ जस्ता चर्चित उपन्यासहरू प्रकाशित छन् । नेपाली साहित्यमा उनलाई ‘मनोवैज्ञानिक यथार्थवादी’ धाराका प्रवर्तक मानिन्छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष गर्नुभएका कोईरालाको स्मृतिमा ‘वीपी स्मृति दिवस’ मनाइन्छ । उहाँको मेलमिलापको नीति र वैचारिक दृष्टिकोण आजको राजनीतिमा पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
ताजा समाचार
अल्जेरियामा भीषण डढेलोका कारण ६ जनाको मृत्यु
१ घन्टा अघि




