अल्जेरियामा भीषण डढेलोका कारण ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

अल्जेरियामा भीषण डढेलोका कारण ६ जनाको मृत्यु

अल्जेरियाको उत्तरी क्षेत्रमा जारी अत्यधिक गर्मी (हिट वेभ) का कारण फैलिएको भीषण डढेलोमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । अल्जेरियाको आन्तरिक मन्त्रालयका अनुसार देशका विभिन्न प्रान्तका वन तथा वनस्पति क्षेत्रमा डढेलो लाग्ने क्रम अझै जारी छ । अल्जेरियाको नागरिक सुरक्षा विभागका प्रवक्ता नसिम बरनाउईले जुलाई महिनाको शुरुदेखि हालसम्म देशभर १ हजार ४६० वटा डढेलोका घटनाहरू रेकर्ड गरिएको जानकारी दिएका छन् । राज्य सञ्चालित रेडियोसँग कुरा गर्दै बरनाउईले नागरिक सुरक्षा टोलीले सेना, वन महानिर्देशनालय, स्थानीय अधिकारी र स्वयंसेवकहरूको समन्वयमा ८५ देखि ९० प्रतिशत डढेलो नियन्त्रणमा लिइसकेको बताए । हाल अन्नाबा, बेजाया, गुएल्मा, एल टार्फ, खेन्चेला, मिला, बुइरा, मेडिया र मास्कारा प्रान्तहरूमा बाँकी रहेका डढेलो निभाउने र आगोलाई थप फैलिन नदिन अग्नि नियन्त्रकहरू सक्रिय रहेको उनले जानकारी दिए । प्रवक्ता बरनाउईकाअनुसार मे महिनाको सुरुदेखि हालसम्म अल्जेरियामा कुल ३ हजार ७१९ वटा डढेलोका घटना दर्ता भएका छन्, जुन गत वर्षको सोही अवधिमा १ हजार ५०१ मात्र थियो ।वन महानिर्देशनालयको तथ्याङ्कअनुसार यस वर्ष डढेलोका कारण १ हजार ६६६ हेक्टरभन्दा बढी वनस्पति क्षेत्र नष्ट भएको छ । गत वर्षको सोही अवधिमा ४६७ हेक्टर वन क्षेत्रमा क्षति पुगेको थियो ।

Leave a Reply