काठमाडौं ।
देशभरको मौसममा सुधार नभई आज पनि धेरैजसो स्थानमा वर्षा र बदलीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभर साधारणतया बादल लाग्ने र विभिन्न प्रदेशका पहाडी तथा तराईका भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने देखिएको छ । विभागले सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार दिउँसो देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा समेत वर्षाको प्रक्षेपण गरिएको छ । विशेषगरी कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, देशका हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।
आज रातिको समयमा पनि देशभर साधारणतया बदलीकै अवस्था रहने विभागको पूर्वानुमान छ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, राति कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षा हुनेछ । मधेस र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । विभागकाअनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ । वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक शतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।




