औद्योगिक क्षेत्रको सुधार र प्रभावकारी अनुगमनका लागि सत्तारुढ सांसदहरूको जोड | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

औद्योगिक क्षेत्रको सुधार र प्रभावकारी अनुगमनका लागि सत्तारुढ सांसदहरूको जोड

काठमाडौं ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले मुलुकको औद्योगिक क्षेत्रको सुधारका लागि प्रभावकारी अनुगमन, नीतिगत स्पष्टता र श्रमिकको हकहित सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् । समितिको अनुगमनका क्रममा बालाजु औद्योगिक क्षेत्र लगायतका स्थानमा देखिएका संरचनागत र व्यवस्थापकीय कमजोरी औंल्याउँदै उनीहरूले उद्योगी र श्रमिकका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सांसदहरूले ठूला खाद्य उद्योगमा प्राविधिक जनशक्तिको अभाव, बन्द उद्योगको पुनरुत्थान र औद्योगिक क्षेत्रभित्रका अनियमितता नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उद्योगीहरूले भोग्नुपरेको प्रशासनिक झन्झट अन्त्य गर्दै सुरक्षित कार्यवातावरण निर्माणका लागि स्पष्ट कार्ययोजनासहित अघि बढ्न उनीहरूले सुझाव दिए ।

अनुगमनलाई औपचारिकतामा मात्र सिमित नराखी परिणाममुखी बनाउन र सबै सरोकारवाला पक्षसँग छुट्टाछुट्टै संवाद गर्न सांसदहरूको माग छ ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले बालाजु औद्योगिक क्षेत्रले अपेक्षित प्रगति गर्न नसकेको बताउनु भयो । उहाँले औद्योगिक क्षेत्रको यथार्थ अवस्था बुझ्न व्यवस्थापन पक्ष र उद्योगीहरूसँग छुट्टाछुट्टै छलफल गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । अनुगमनका क्रममा खाद्य उद्योगहरूको अवस्थाबारे चर्चा गर्दै उहाँले ठूला खाद्य उद्योगहरूमा समेत खाद्य प्रविधिज्ञ र सूक्ष्म जीवविज्ञको अभाव रहेको पाइएको बताउनु भयो । यसबारे उद्योग र खाद्य स्वच्छतासँग सम्बन्धित मन्त्रालयहरूले अध्ययन गरी आवश्यक जनशक्ति अनिवार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद न्यौपानेले अनुभवी ज्येष्ठ उद्यमी र नयाँ पुस्ता (जेन–जी) का उद्यमीहरूलाई समितिमा बोलाएर उनीहरूका अनुभव र समस्या सुन्नुपर्ने प्रश्ताव गर्नुभयो ।

सरकारी निकायबाट सेवा लिने क्रममा उद्यमीहरूले भोग्नुपरेका झन्झट र मानसिक तनावलाई कम गर्न संसदीय समितिले भुमिका खेल्नुपर्ने उहाँको भनाइ छ । उहाँले महिला उद्यमी र घरेलु उद्योगहरूको प्रवद्र्धनका लागि विशेष अनुगमन र छलफलको आवश्यकता रहेको समेत बताउनु भयो । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनरुत्थानको प्रक्रियाका सम्बन्धमा बोल्दै उहाँले नेपाली सेनाले गरिरहेको अध्ययनको स्वागत गर्नुभयो । तर केवल सेनाको आवश्यकताका लागि मात्र उत्पादन गर्दा रोजगारी सिर्जनाको लक्ष्य पूरा नहुने भएकाले यसअघि तयार भएका अध्ययन प्रतिवेदनहरूको समितिले पनि अध्ययन गर्नुपर्ने र आवश्यक समन्वय गर्नुपर्ने उहाँले माग गर्नुभयो । संसदीय समितिको अनुगमनलाई थप व्यवस्थित र उपलब्धिमूलक बनाउन टोली विभाजन गरी कार्य गर्न र प्रत्येक अनुगमन पश्चात अनिवार्य रूपमा प्रतिवेदन तयार गरी छलफल गर्न उहाँले सुझाव दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सिर्जना श्रेष्ठले औद्योगिक क्षेत्रको यथार्थ अवस्था बुझ्न र विद्यमान समस्या समाधान गर्न प्रभावकारी अनुगमन र उद्योगहरूको वर्गीकरण आवश्यक रहेको बताउनु भयो । सांसद श्रेष्ठले अनुगमनलाई औपचारिकतामा मात्र सीमित नगरी यथार्थ चित्रण ल्याउने माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । अनुगमन सूचना नदिईकन गरिनुपर्ने र मात्रै वास्तविक अवस्था देख्न पाइने बताउनु भयो । तर अनुगमनको उद्देश्य उद्यमी वा श्रमिकलाई दुःख दिनु नभई समस्या पहिचान गरी सुधार गर्नु रहेको सन्देश प्रवाह गर्नुपर्ने उहाँको तर्क छ । समस्या लुकाउने प्रवृत्तिका कारण वास्तविक सुधार हुन नसक्ने भन्दै उहाँले समितिले स्पष्ट कार्ययोजनासहित काम गर्नुपर्ने बताउनु भयो । औद्योगिक क्षेत्रभित्र नविकरणको प्रक्रियामा अनियमितता भएको आशङ्का गर्दै सांसद श्रेष्ठले औद्योगिक प्रयोजनका लागि छुट्याइएको ठाउँमा सवारी साधनका ‘शो–रुम’ र सेवा केन्द्रहरू सञ्चालनमा रहेकोप्रति आपत्ति जनाउनु भयो ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा कार्कीले मुलुकका उद्योगी र श्रमिक दुवैका लागि समान अधिकार र न्यायोचित व्यवहार हुनुपर्नेमा जोड दिनुभयो । सांसद कार्कीले संसदीय समितिको कार्यकालको शुरुवाती चरणमा रहेको उल्लेख गर्दै हतारिएर नतिजा खोज्नुभन्दा संयमित भएर अनुगमन र सुधारका कार्यलाई अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले अनुगमनका क्रममा देखिएका कमजोरीहरूलाई सुधार गर्दै लैजाने र राम्रो कार्य गर्नेहरूलाई पुरस्कृत गर्ने नीति अवलम्वन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद कार्कीले बहुराष्ट्रिय कम्पनीका सञ्चालकदेखि साधारण श्रमिकसम्म सबै नेपाली नागरिक भएकाले उनीहरूले पाउने अधिकार समान हुनुपर्ने बताउनु भयो । उद्योग सञ्चालकहरूले श्रमिकलाई शोषण गर्न नहुने र सबैको हक सुनिश्चित गर्न राज्यले पहल गर्नुपर्ने उहाँको तर्क छ । उद्योग क्षेत्रमा देखिएका सकारात्मक अभ्यासहरूलाई प्रोत्साहन गर्दै सबै नागरिकलाई समान अधिकारको प्रत्याभुति गराउनु आजको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले देशको वर्तमान आर्थिक अवस्थाका कारण बन्द भएका उद्योगहरूको पहिचान गरी तिनलाई पुनः सञ्चालन गर्न सरकारले विशेष पहल गर्नुपर्ने बताउनु भयो । सांसद भण्डारीले उद्योगीका समस्या सुन्न र समाधानका उपाय खोज्न संसदीय समितिले प्रभावकारी कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद भण्डारीले देशभरका उद्योगहरूको वर्तमान अवस्थाबारे जानकारी लिन समितिको तर्फबाट पर्याप्त अनुगमन नभएको टिप्पणी गर्नुभयो । उहाँले समितिका सदस्यहरूलाई जिल्लागत रूपमा कार्यतालिका बनाएरै स्थलगत भ्रमण र निरीक्षणमा जान प्रश्ताव गर्नुभयो । कार्यस्थलमा श्रमिकहरूको स्वास्थ्य र सुरक्षाको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँले उद्योगहरूमा ठाउँको अभाव रहेको उल्लेख गर्दै राज्यले वैकल्पिक जग्गा उपलब्ध गराउनुपर्ने र श्रमिकहरूका लागि आवासको व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो । सांसद भण्डारीले उद्योग क्षेत्रमा देखिएको बिजुलीको समस्या र ठूला उद्योगहरूको एकाधिकारका कारण साना उद्योगहरू धराशायी भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई पनि औद्योगिक प्रणालीभित्रै समेटेर लैजानुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अरविन्द साहले मुलुकको वर्तमान औद्योगिक अवस्था, व्यवस्थापकीय कमजोरी र श्रमिकहरूको स्वास्थ्य सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद साहले देशको वर्तमान आर्थिक शिथिलताका कारण धेरै उद्योगहरू बन्द अवस्थामा पुगेको बताउनु भयो । उहाँले सरकारले देशभरका उद्योगहरूको स्थलगत अवलोकन गरी समस्यामा रहेका उद्योगहरूको पहिचान गर्न र तिनलाई पुनः सञ्चालनमा ल्याउन विशेष योजना बनाउनुपर्नेमा जोड दिनुभयो । औद्योगिक क्षेत्रको व्यवस्थापनमा देखिएको बेथितिका विषयमा टिप्पणी गर्दै उहाँले अर्बौंको लगानी र स्रोत साधन उपयोग भएपनि व्यवस्थापन पक्ष जिम्मेवार नदेखिएको आरोप लगाउनु भयो । औद्योगिक क्षेत्रभित्र विद्युत् महसुल असुली र सरसफाइ जस्ता आधारभूत कार्यहरू समेत प्रभावकारी नभएको भन्दै उहाँले व्यवस्थापन गर्ने निकायको कडा अनुगमन हुनुपर्ने माग गर्नुभयो । यसैगरी, प्रदूषण नियन्त्रण र आधुनिक उद्योगको अवधारणाबारे बोल्दै सांसद साहले बस्ती नजिकका औद्योगिक क्षेत्रहरूमा प्रदूषण फैलाउने उद्योगको सट्टा सूचना प्रविधि (आईटी) उद्योगहरूलाई प्राथमिकता दिन प्रश्ताव गर्नुभयो । श्रमिकहरूको सुरक्षा र स्वास्थ्यका विषयमा चासो व्यक्त गर्दै साहले कार्यस्थलमा न्युनतम सुरक्षा मापदण्ड पालना नभएकोमा चिन्ता प्रकट गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले औद्योगिक क्षेत्रको अनुगमन र निरीक्षणलाई थप प्रभावकारी एवं परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद पाठकले समितिको भुमिकालाई बलियो बनाउँदै नागरिकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । हालै गरिएको बालाजु औद्योगिक क्षेत्रको भ्रमणलाई सिकाइको प्रारम्भिक चरणका रूपमा व्याख्या गर्दै उहाँले आगामी दिनमा गरिने अनुगमनमा गुणात्मक सुधारको आवश्यकता औंल्याउनु भयो । सांसद पाठकले औद्योगिक क्षेत्रभित्र रहेका व्यवसायी, व्यवस्थापक, कामदार र प्रभावित स्थानीय बासिन्दाका समस्या फरक–फरक हुने उल्लेख गर्दै सबै सरोकारवाला पक्षलाई समेटेर छलफल अघि बढाउन सुझाव दिनुभयो । कुनै एक पक्षसँग मात्र छलफल गर्दा समस्याको पूर्ण चित्रण नहुने बताउनु भयो । सांसद पाठकले समितिको कार्यतालिकालाई थप व्यवस्थित बनाउन समेत आग्रह गर्नुभयो । प्रतिनिधि सभाको बैठक आगामी १४ गतेसम्मका लागि स्थगित भएको सन्दर्भमा, समितिको आन्तरिक कार्यसम्पादन र अनुगमनका कामलाई सोही अवधिभित्र प्रभावकारी रूपमा अगाडि बढाउन सकिने उहाँको भनाइ छ । व्यवसायी, व्यवस्थापक, श्रमिक र स्थानीय बासिन्दाका समस्या फरक–फरक हुने भएकाले सबै पक्षलाई समेटेर छलफल अघि बढाउन उहाँले सुझाव दिनुभयो । समितिको कार्यतालिकालाई थप व्यवस्थित बनाउँदै नागरिकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार