सत्ता गठबन्धनका उम्मेदवारले गरे उद्योगीसामु विकासको साझा प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सत्ता गठबन्धनका उम्मेदवारले गरे उद्योगीसामु विकासको साझा प्रतिबद्धता

बुटवल। औद्योगिक विकासको लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले साझा प्रतिवद्धता व्यक्त गरेका छन् । औद्योगिक विकास, त्यसका माध्यमबाट रोजगारी सिर्जना, रोजगारीको लागि पलायन भइरहेको जनशक्तिलाई आफ्नै स्थानमा काम गर्ने वातावरण बनाउने उनीहरूको प्रतिबद्धता छ। रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धन निकटका उद्योगी व्यवसायीहरूसँग सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केशवबहादुर थापा, प्रदेश (१) का उम्मेदवार दीर्घबहादुर (कुमार) केसी र प्रदेश (२) का उम्मेदवार वामदेव क्षेत्रीले यस क्षेत्रको आर्थिक विकासको लागि ठोस योजना र कार्यक्रम तर्जुमा गरी लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । त्यस्तै बुटवल रामनगरको औद्योगिक क्षेत्रको व्यवस्थापनमा सघाउ पुर्‍याउने, व्यवसायिका लागि सस्तो व्याजदरमा शुलभ तरिकाले कर्जा उपलब्ध हुने वातावरण मिलाउने उनीहरूको प्रतिबद्धता छ । औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुरहरुको हितको लागि सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने व्यवस्था, न्यूनतम पारिश्रमिकको व्यवस्था, रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण बनाउन ठोस कार्यक्रम ल्याउने उनीहरुको प्रतिबद्धता छ । त्यस्तैगरी न्यून आय भएका गरिब तथा विपन्न वर्गका महिलाका लागि उद्यमशीलता कार्यक्रम, युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्न विशेष कार्यक्रम र छुट्टै स्वरोजगार कोषको व्यवस्था मिलाउने उनीहरूले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापाले यस क्षेत्रको औद्योगिक विकासको लागि गठबन्धन प्रतिबद्ध रहेको बताए । यस क्षेत्रमा औद्योगिक विकासको लागि मोतिपूर औद्योगिक क्षेत्रलाई व्यवस्थित गरेर पूर्णता दिने प्रतिबद्धता जनाए । त्यस्तै बुटवल औद्योगिक क्षेत्र, बुटवल धागो कारखानालाई समेत व्यवस्थापन गर्ने उनको भनाइ छ । त्यस्तै निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ । औद्योगिक क्षेत्रको विकास तथा लगानीको वातावरण सिर्जना गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्ने उनको भनाइ छ।
त्यस्तै रुपन्देही २ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले औद्योगिक विकास, कृषिमा व्यवसायिक विकास तथा पर्यटन उद्योगको विकास र प्रवर्द्धनमा विशेष ध्यान दिईने बताए । उनले औद्योगिक विकासका माध्यमबाट आयात प्रतिस्थापन गर्दै निर्यातलाई जोड दिइने र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विशेष प्राथमिकता दिइने बताए । यसले उच्च विन्दुमा भइरहेको आयात प्रतिस्थापन तथा नयाँ रोजगारीको पनि सिर्जना हुने र युवाशक्तिले रोजगारीको अवसर प्राप्त गर्ने उनको भनाई छ। त्यस्तै प्रदेश (२) का उम्मेदवार बामदेव क्षेत्रीले आफू प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गर्दा औद्योगिक विकासको लागि खाका बनाएको र सोही अनुसारका कामलाई प्राथमिकता दिएको बताए।
त्यस अवसरमा उद्योगी व्यवसायीहरुले पटक पटक जितेका उम्मेदवारबाट औद्योगिक विकासको साटो वातावरण नै बिगार्ने काम भएकोले त्यसलाई सुधार गरेर मोतिपुर औद्योगिक क्षेत्रलाई परिस्कृत गरेर भएपनि निर्माण गर्नुपर्ने भनाइ राखेका थिए । त्यस्तै लगानीको वातावरण, लगनाी सुरक्षाको प्रत्याभूति, सरल र सहज कर्जाको व्यवस्था अपरिहार्य रहेको उनीहरुको भनाइ थियो।

सत्ता गठबन्धन उद्योगी व्यवसायी तथा पेशाकर्मी परिचालन समितिका संयोजक खिमबहादुर हमालले यहाँका सबै उद्योगी व्यवसायीहरु सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा रहेको र निर्वाचन जितेर गइसकेपछि व्यवसायीका समस्या सम्बोधन गरी समाधान गर्न आग्रह गरे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);