फ्रान्समा डढेलो लगाएको अभियोगमा ५९ जना पक्राउ, फोन्टेनब्लो आगलागीमा दुई जनाको संलग्नता | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

फ्रान्समा डढेलो लगाएको अभियोगमा ५९ जना पक्राउ, फोन्टेनब्लो आगलागीमा दुई जनाको संलग्नता

फ्रान्सका विभिन्न स्थानमा लागेको डढेलोका घटनामा संलग्न भएको आरोपमा प्रहरीले देशभरबाट ५९ जनालाई नियन्त्रणमा लिएको छ । फ्रान्सका आन्तरिक मामिला मन्त्री लरेन्ट नुनेजले सोमवार यसबारे जानकारी दिनुभएको हो । फ्रान्सेली टेलिभिजन च्यानल ‘फ्रान्स २’ सँग कुराकानी गर्दै मन्त्री नुनेजले पेरिसको दक्षिण–पूर्वी क्षेत्रमा पर्ने सेइन–एट–मार्न विभागस्थित फोन्टेनब्लो वनमा ‘नियतवश वा दुर्घटनावश’ आगो लगाएको आशंकामा दुई जनालाई हिरासतमा लिइएको बताउनु भयो । नियन्त्रणमा लिइएका कुल ५९ जनामध्ये ३० जना वयस्क र २९ जना नाबालिग रहेका छन् । फोन्टेनब्लो वनमा आईतवार साँझदेखि शुरु भएको डढेलो सोमवार पनि फैलिने क्रम जारी रहेको थियो । मन्त्री नुनेजकाअनुसार मुख्य डढेलोले करिव १,२०० हेक्टर वन क्षेत्र नष्ट गरिसकेको छ । त्यस्तै, सोमवार दिउँसो स्थानीय समयअनुसार ३ बजे मुख्य आगलागी भएको स्थानबाट ५ किलोमिटर टाढा अर्को डढेलो शुरु भएको र त्यसले करिव १०० हेक्टर क्षेत्र प्रभावित पारेको बताइएको छ । फ्रान्सको मौसम विभाग ‘मेटियो–फ्रान्स’ ले सोमवार सार्वजनिक गरेको प्रतिवेदनमा सप्ताहन्तदेखि तापक्रम निरन्तर बढिरहेको र साताको शुरुमा पनि यो क्रम कायमै रहेको उल्लेख छ । अत्यधिक गर्मी र सुख्खा माटोका कारण देशभर डढेलोको जोखिम उच्च रहेको चेतावनीसमेत विभागले दिएको छ
मन्त्री नुनेजले यस वर्षको सुरुदेखि हालसम्म फ्रान्समा ३२ हजार हेक्टर वन क्षेत्र डढेलोका कारण नष्ट भइसकेको जानकारी दिनुभयो । यो क्षति सन् २०२५ को सम्पूर्ण डढेलो सिजनमा भएको कुल क्षतिभन्दा पनि बढी हो ।

Leave a Reply

ताजा समाचार