टोकियोमा ताकाइची सरकारका नीतिहरू विरुद्ध विशाल जनप्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

टोकियोमा ताकाइची सरकारका नीतिहरू विरुद्ध विशाल जनप्रदर्शन

जापानको टोकियोस्थित राष्ट्रिय संसद भवनअगाडि प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले अघि सारेका सैन्य तथा सुरक्षा नीतिहरूको विरोधमा विशाल जनप्रदर्शन भएको छ । हजारौँ नागरिकले सरकारका पछिल्ला कदमहरूलाई खतरनाक भन्दै आपत्ति जनाएका छन्  । आयोजककाअनुसार उक्त विरोध प्रदर्शनमा करिव २७ हजार नागरिक भौतिक रूपमा उपस्थित थिए भने १ लाख १० हजारभन्दा बढी व्यक्तिहरूले अनलाइनमार्फत आफ्नो ऐक्यवद्धता जनाएका थिए । संसद भवन वरपरका सडकहरूमा प्रदर्शनकारीहरूको कैयौँ किलोमिटर लामो ताँती देखिएको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले ताकाइचीका गैरजिम्मेवार कदमहरू बन्द गर र जापानले शक्तिको प्रयोग सधैँका लागि त्याग गर्नुपर्छ जस्ता नारा लगाएका थिए । जनभावनाको कदर नगरेको र युद्धको जोखिम बढाएको भन्दै उनीहरूले सामूहिक रूपमा जापानी संविधानको धारा ९ वाचन गरेका थिए, जसले जापानलाई युद्ध गर्न निषेध गर्दछ । प्रदर्शनमा सहभागी नोरिको कानामोरीले सरकारका पछिल्ला गतिविधिहरू युद्धको तयारी जस्तो देखिएको भन्दै आक्रोश व्यक्त गरिन् ।

गत फेब्रुअरीमा भएको प्रतिनिधि सभाको निर्वाचनपछि सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले संसदमा आफ्नो बहुमतको बलमा राष्ट्रिय गुप्तचर परिषद् स्थापना गर्ने लगायतका विधेयकहरू पारित गरेको छ । प्रतिपक्षी दल र नागरिक समाजको तिब्र विरोधका बाबजुद सरकारले रक्षा बजेटमा वृद्धि गर्ने र यसै वर्षको अन्त्यसम्ममा मुलुकका तीन प्रमुख सुरक्षा दस्ताबेजहरू परिमार्जन गर्ने तयारी गरिरहेको छ । जापानमा तिब्र गतिमा भइरहेको सैन्य क्षमता विस्तार र रक्षा नीतिमा आएका परिवर्तनहरूले आम नागरिकमा चिन्ता र संशय थपेको छ, जसको प्रतिविम्ब टोकियोको यो विशाल प्रदर्शनमा देखिएको छ ।

Leave a Reply