सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन

काठमाडौं ।

‘सबैभन्दा बढी चाप रहेको शुक्रराजमा एक महिनालाई मात्र छ एआरभी मौज्दात’
सर्पदंशको भ्याक्सिन ‘एन्टिस्नेक भेनम’को हाहाकार, सरकार भन्छ–अभाव छैन

सरकारले समयमै खरिद प्रक्रिया अगाडि नबढाउँदा एन्टीरेबिज भ्याक्सिन (एआरभी) खोपको देशभर अभाव भएको छ ।
विश्वव्यापी मूल्यवृद्धिका कारण दररेट समायोजनको समस्या र पश्चिम एशियामा जारी तनावका कारण सरकारले टेण्डर प्रक्रिया टुंग्याउन नसक्दा देशभरका अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरूमा खोपको आपूर्ति हुन सकेको छैन । कुकुर, बाँदरलगायत जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन (एआरभी) लगाइन्छ । चिकित्सककाअनुसार जनावरले टोकेको थाहा पाएपछि खोप सकेसम्म चाँडै लगाउनुपर्छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारी बजार मूल्य बढेका कारण पुरानो दररेटमा खोप खरिद सम्भव नभएको र त्यसअनुसार नयाँ दररेट मिलाएर टेन्डर प्रक्रिया अघि बढाउनुपर्दा एन्टीरेबिज भ्याक्सिन खरिद प्रक्रियामा ढिलाई भएको बताउनुहुन्छ । उहाँकाअनुसार करिव ५ लाख भायल एआरभी खोप खरिदको टेण्डर अन्तिम चरणमा पुगेको भएपनि आपूर्ति प्रक्रिया अझै शुरु भएको छैन । उहाँले सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग समन्वय गरेर आकस्मिक रूपमा एन्टि रेबिज भ्याक्सिनहरू अस्पतालहरूमा उपलब्ध गराएर व्यवस्थापन गरिरहेको दाबी गर्नुभयो । उहाँकाअनुसार आईतवार मात्र चार हजार पाँच सय भायल एआरभी खोपहरू नेपाल आएका छन् । उक्त मात्रामा भित्रिएको खोपले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका लागि मात्र एक महिनाका लागि पुग्ने अधिकारीले बताउनु भयो । उहाँले त्यसबाहेकका एन्टीरेबिज भ्याक्सिनहरूको लागि यही असार १६ गतेभित्र सम्झौता प्रक्रिया टुंगिएर आपूर्ति प्रक्रिया शुरु हुने बताउनु भयो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक अधिकारीले सरकारले अगामी आर्थिक वर्षमा रेबिजविरुद्धको खोप अभाव हुन नदिनेगरी आपूर्ति प्रक्रिया अघि बढाइरहेको समेत बताउनु भयो ।

सर्पदंशको भ्याक्सिन ‘एन्टिस्नेक भेनम’को हाहाकार, सरकार भन्छ–अभाव छैन
सर्पदंशका घटना सबैभन्दा बढी हुने वर्षाको मौसममा देशभर सर्पदंशको भ्याक्सिन (एन्टिस्नेक भेनम)को समेत अभाव भएको छ । अत्यावश्यक जीवनरक्षक औषधिको रुपमा मानिने एन्टिस्नेक भेनम अभावका सर्पदंशको कारण तराईका क्षेत्रसहित देशभर समस्या भएको छ । सरकार भने सर्पदंशको उपचारका लागि आवश्यक एन्टिस्नेक भेनमको अभाव नरहेको दाबी गरिरहेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक अधिकारले सर्पदंशविरुद्धको भ्याक्सिनको उपलब्धतामा चुनौती नरहेको बताउनुहुन्छ । उहाँले  भ्याक्सिन आपूर्तिको लागि सम्झौता सम्पन्न भई सप्लायर्सहरुलाई भ्याक्सिन आपूर्ति गर्न भनिसकिएको बताउनुभयो । उहाँले रेबिज र सर्पदंशविरुद्धका भ्याक्सिनहरु पाइपलाइनमा रहेको भन्दै अगामी आर्थिक वर्षमा आपूर्ति समस्या नहुने दाबी गर्नुभयो ।

मनसुनको समयमा विशेषगरी तराई–मधेसका जिल्लाहरुमा सर्पदंशका घटनाबाट वर्षेनी सयौँ नागरिकले अकालमै ज्यान गुमाउने गरेका छन् । यही गम्भीर्यतालाई मध्यनजर गरी सरकारले अगामी आर्थिक वर्षमा भ्याक्सिनको अभाव हुन नदिने गरी कार्य गरिरहेको अधिकारीको भनाइ छ ।

Leave a Reply

ताजा समाचार