दशकौंसम्मको वैदेशिक निर्वासनपछि स्वदेश फर्किएका लाखौं अफगान नागरिकहरूका लागि घर फिर्तीको खुशीसँगै जीवनको नयाँ संघर्ष शुरु भएको छ । वर्षौंदेखि विदेशमा शरणार्थी जीवन बिताएर फर्किएका उनीहरूले आफ्नै देशमा पुनः स्थापित हुन कठिन चुनौतीहरूको सामना गरिरहेका छन् । आर्थिक मन्दी, प्राकृतिक विपत्ति र लामो समयदेखिको मानवीय संकटसँग जुधिरहेको अफगानिस्तानमा फर्किएका यी नागरिकहरूका लागि नयाँ जीवनको सुरुवात सहज देखिएको छैन । उनीहरूले आधारभूत आवश्यकता पूर्ति गर्न र आफ्नो जीवनलाई पुनः गति दिन ठूलो कसरत गर्नुपर्ने अवस्था छ ।
हाल पूर्वी नान्र्गहार प्रान्तस्थित अफगानिस्तान र पाकिस्तानबीचको मुख्य सीमा नाकाबाट केही सय मिटरको दूरीमा रहेको ओमारी शरणार्थी शिविरमा सहायताकर्मीहरू फर्किएका परिवारहरूलाई सहयोग गर्न अहोरात्र खटिएका छन् । उक्त शिविरमा चिनियाँ सरकार, संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय र अन्य मानवीय संस्थाहरूको सहयोगमा १ हजार २०० वटा पालहरू (टेन्ट) को व्यवस्था गरिएको छ ।
यसै शिविरमा आश्रय लिइरहेकाहरूमध्ये ६० वर्षीय दौलतजाई पनि एक हुन् । उनले आफ्नो जीवनको करिव आधा समय छिमेकी मुलुक पाकिस्तानमा शरणार्थीका रूपमा बिताएका थिए । उनीजस्तै हजारौं अफगान नागरिकहरू अहिले स्वदेश फर्किए पनि भविष्यलाई लिएर अन्योलमा छन् ।





