काठमाडौं, ९ फागुन । सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाका पीडितहरुले आफूहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
सडक विस्तारपछि उचित क्षतिपूर्तिको व्यवस्था नगरिएको भन्दै उनीहरुले बुधबार माईतीघर मण्डलामा उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै नयाँ सरकारलाई दवाव दिन सुरु गरेका हुन ।
नयाँ सरकारले पनि आफूहरुको माग सम्बोधन नगरे कडा संघर्षमा जान बाध्य हुने काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीले बताए ।
उचित विकल्प तयार नभई सडक विस्तारको नाममा आफूहरुको बास समेत उठाएको भन्दै पीडितहरुले विगत २ वर्षयता सरकारविरुद्ध संघर्ष गर्दै आएका छन् । उनीहरुले नगर विकास प्राधिकरणले कामै नगरेको भन्दै तत्काल खारेज गर्न पनि माग गरे ।
दवाव अभियानमा सहभागी वृद्धवृद्धाहरुले आफूहरुलाई बुढेस्कालमा घरबारविहिन बनाएकाले सरकारविरुद्ध संघर्ष गर्नु परेको बताएका छन् । स्थानीय नेताहरुले समेत आफूहरुलाई दुःख दिने गरेको पीडितको गुनासो छ ।
सडक विस्तार गरेपनि त्यसको उचित क्षतिपूर्ति नपाएपछि काठमाडौं उपत्यकाबासीले सरकार विरुद्ध संघर्ष गर्दै आएका हुन् । उनीहरुले संवैधानिक व्यवस्था अनुसार पनि बास बस्न पाउने नागरिकको हक खोस्ने अधिकार कसैलाई पनि नरहेको दावी गर्दै उचित क्षतिपूर्तिका व्यवस्था गर्न माग गर्दै आएका छन् ।