काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा अनधिकृत रूपमा करका दरहरू हेरफेर गरेको आरोप लगाउँदैसंसदीय छानबिनको माग गर्नुभएको छ । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्ति र कार्यशैलीप्रति आपत्ति जनाउनुभएको हो । सांसद पुनले मन्त्रिपरिषद्ले पारित गरिसकेको विधेयकमा संसदको अधिकार क्षेत्रलाई मिचेर अर्थमन्त्री स्वयंले करका दरहरू परिवर्तन गरेको स्वीकार गर्नु गम्भीर कानूनी र नैतिक प्रश्न भएको बताउनु भयो ।
स्व. भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा बजेट चुहावटको विषयमा संसदीय छानबिन समिति बनेको प्रसङ्ग उल्लेख गर्दै पुनले यसपटक पनि निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्रीले संसद्मा ‘हिजोका फाइल खोलिदिन्छु’ भन्दै दिएको अभिव्यक्तिलाई सांसद पुनले ‘धम्कीको राजनीति’ को संज्ञा दिनुभयो । पुनले छानबिन समितिलाई थप विश्वसनीय बनाउन यसपटक निर्वाचित भएर आएका नयाँ सांसदहरूको मात्र प्रतिनिधित्व रहने गरी समिति गठन गर्न समेत प्रश्ताव गर्नुभएको छ । उहाँले सरकारले बहुमतको दम्भमा संसदीय प्रक्रिया र मर्यादालाई बेवास्ता गर्न नहुने भन्दै अर्थमन्त्रीको अहङ्कारी प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने बताउनु भयो । यसअघि प्रतिपक्षले प्राविधिक त्रुटी होला भनी ‘शङ्काको सुविधा’ दिएको भएपनि अर्थमन्त्री आफैँले संसद्मा उभिएर नियमविपरीत करका दर हेरफेर गरेको स्वीकार गरेपछि सदनमा गम्भीर प्रश्न उठेको उहाँको भनाइ छ । पत्रकार र सञ्चारमाध्यमप्रति अर्थमन्त्रीले प्रयोग गरेको शब्दप्रति पनि पुनले असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक जवाफदेहिताबाट नभाग्न चेतावनी दिनुभयो ।




