जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी

काठमाडौं ।

जलवायु परिवर्तनका कारण मानव जीवन, जीविकोपार्जन र समग्र पर्यावरणीय सन्तुलनमा गम्भीर चुनौती खडा भएकोे छ । पछिल्ला अध्ययनहरुले जलवायु परिवर्तनले प्रकृति र जीवजन्तुमा मात्रै नभई प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पु¥याएको देखाएका छन् । प्रजनन तथा आईभीएफ विशेषज्ञ डा. रश्मी श्रीशले पछिल्लो समय विश्वभर निःसन्तानपनको दर बढ्दै गएको र यसको पछाडि जलवायु परिवर्तन तथा वातावरणीय असन्तुलन प्रमुख कारणका रूपमा देखा पर्न थालेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै डा. श्रीशले प्रजनन स्वास्थ्यसम्बन्धी समस्यामध्ये करिव २० प्रतिशतमा जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव रहने गरेको अध्ययनले देखाएको बताउनु भयो । चीनमा गरिएको पछिल्लो अध्ययनले निःसन्तानपनको समस्यामा २० प्रतिशत जलवायु परिर्वतनको भुमिका रहेको देखाएको उहाँले बताउनु भयो । जलवायु परिवर्तनले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा बराबर असर पार्ने गरेको पनि अध्ययले देखाएको छ । डा. श्रीशले जलवायु परिवर्तनका कारण मौसमा आएको परिर्वतनले मानिसमा बढ्ने तनाव, थकान र जीवनशैलीमा आउने परिवर्तनले यौन स्वास्थ्य र प्रजनन क्षमतामा असर पारिरहेको बताउनु भयो । जलवायुजन्य विपद्को समयमा प्रभावितले समयमै स्वास्थ्य उपचार गराउन नपाउने व्यवहारिक कठिनाईका कारण समेत प्रजनन स्वास्थ्यमा गम्भीर समस्या देखिने गरेको उहाँको भनाइ छ । डा. श्रीशकाअनुसार वातावरणीय असन्तुलनको कारण बढ्दो तापक्रम, वायु प्रदुषण, रासायनिक पदार्थको प्रभाव तथा प्लास्टिकजन्य सामग्रीको प्रयोगले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ । महिलामा महिनावारीमा अनियमितता र छिटो मेनोपज हुने समस्या देखिने गरेको तथा पुरुषमा शुक्राणुको गुणस्तर र संख्यामा कमी तथा डीएनए क्षति हुनसक्ने जोखिम बढाएको बताउनु भयो । विश्व तथ्यांकअनुसार, प्रत्येक ६ दम्पतीमध्ये १ दम्पती निःसन्तानपनको समस्याबाट प्रभावित हुने गरेका छन् । नेपालमा यसबारे अध्ययन नभएपनि सोही अनुपातमा समस्या रहेको डा. श्रीशले बताउनु भयो । डा. श्रीशले निःसन्तानको समस्याले दीर्घकालिन रुपमा सिंगो देश र विश्वलाई नै प्रभाव पार्ने भएकाले व्यक्तिको स्वास्थ्य समस्याको रुपमा नभई पब्लिक हेल्थको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

जलवायु परिजवर्तनले महिला र पुरुषको प्रजनन स्वास्थ्यमा कस्तो असर पार्छ ?
डा. श्रीशले निःसन्तानको समस्या महिला र पुरुष दुवैमा बराबर हुने बताउनुहुन्छ । नेपाली समाजमा कुनै दम्पतीमा निःसन्तापन देखिएमा महिलालाई मात्र दोष दिने प्रवृत्ति रहेको भएपनि समस्या पुरुषमा पनि समान रहेको बताउनु भयो । महिलाहरूमा वातावरणीय जोखिमको कारण  अण्डाणुको गुणस्तर कमजोर हुँदै जाने तथा प्रजनन क्षमतामा समेत ह्रास आउने गर्दछ । उहाँले वायु प्रदुषण र प्लास्टिकजन्य वस्तुको अधिकतम प्रयोगको कारण समेत दम्पतीहरूमा उपचारको नतिजामा प्रभाव पर्ने गरेको देखिएको बताउनु भयो । जलवायुजन्य प्रभावका कारण बदलिएको मौसमी चक्र, प्रदुषण, तापक्रम लगायतले शुक्रकीटको संख्या घटाउने तथा शुक्रकीटको गतिशीलतामा कमी ल्याउने समस्या देखिएको डा. श्रीशले बताउनु भयो । उहाँले विश्वभर पुरुषहरूमा शुक्रकीटको संख्या क्रमशः घटिरहेको र यसो हुनुको मुख्य कारणका रुपमा जलवायु परिवर्तनलाई हेरिएको उल्लेख गर्नुभयो ।

‘जलवायु परिवर्तन र प्रजनन् स्वास्थ्यको विषयमा एकीकृत अध्ययन आवश्यक’
डा. श्रीशले निःसन्तानपनको समस्यालाई व्यक्तिको समस्याको रुपमा मात्र सार्वजनिक स्वास्थ्यको रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो । त्यसैले नेपाल सरकारले पनि पर्यावरणीय असन्तुलन र प्रजनन स्वास्थ्य बारे एकीकृत अध्ययन गर्न आवश्यक रहेको तर्क डा. श्रीशले गर्नुभयो । उहाँले सरकारले जलवायु परिवर्तनका कारण प्रजनन स्वास्थ्यमा परेको असर बारे अध्ययन गरी सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा आवश्यक नीति निर्माण गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर मानिसको प्रजनन स्वास्थ्यमा पर्न नदिन पर्यावरणमैत्री जीवनशैलीको अभियानको थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार