काठमाडौ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्वरहित समाज निर्माणमा जोड दिनुभएको छ ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सचेतक राईले पहिचानको नाममा समाजलाई द्वन्द्वतर्फ धकेल्न खोजिएको भन्दै त्यसप्रति सतर्क रहनुपर्ने बताउनुभएको हो । सचेतक राईले मुलुकमा लोकतन्त्र प्राप्तिका लागि प्रथम शहीद लखन थापादेखि इलामको सात खाल्डेका शहीदहरूसम्मले पु¥याएको योगदानको स्मरण गर्नुभयो । आफू इलामको एउटा सामान्य किसान परिवारमा जन्मिएको र विभिन्न समुदायको संस्कार एवं संस्कृतिमा हुर्किएको चर्चा गर्दै उहाँले बहुजातीय र बहुसांस्कृतिक एकता नै नेपालको सुन्दरता भएको उल्लेख गर्नुभयो । आफू जन्मले नभई विचार र चिन्तनले काँग्रेस भएको स्पष्ट पार्नुभयो ।
पहिचानको मुद्दामा आफ्नो धारणा राख्दै उहाँले आदिवासी जनजातिहरू आफ्नो पहिचानका लागि पार्टी र राज्यका हरेक निकायमा लड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यद्यपि, पहिचानको लडाइँ लड्दा अरूको पहिचानलाई पनि उत्तिकै सम्मान गर्नुपर्ने उहाँको तर्क छ । पछिल्लो समय पहिचानको नाममा मानिसहरूलाई भावनात्मक रूपमा उत्तेजित बनाएर द्वन्द्व सिर्जना गर्न खोजिएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । कतिपय शक्तिले इतिहास र पहिचानलाई देखाएर पार्टी प्रवेश गराउने होडबाजी चलाएको उल्लेख गर्दै उहाँले त्यसले अन्ततः द्वन्द्व निम्त्याउने चेतावनी दिनुभयो । पहिचान पनि भेटिने र द्वन्द्व पनि मेटिने गरी काँग्रेसका नेताहरूले अघि सारेको मार्गलाई आत्मसात गर्न उहाँले सबैलाई आह्वान गर्नुभयो ।
सचेतक राईले भन्नुभयो, ‘कांग्रेसले यो देशको स्वतन्त्रता र नागरिक अधिकार सुनिश्चित गर्न पु¥याएको ऐतिहासिक योगदानलाई हेरेर म यस पार्टीमा आवद्ध भएको हुँ । मेरो सोच र चिन्तनले मलाई कांग्रेस बनाएको हो । आफ्नो पहिचानको सम्मान खोज्नेले अरूको पहिचानलाई पनि आदर गर्न सिक्नुपर्छ, यो नै प्रजातन्त्र र काँग्रेसको शैली हो । काँग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आधारभूत सिद्धान्तहरू यथावत् रहे पनि कार्यशैलीमा भने व्यापक रूपान्तरण भएको छ ।’
काँग्रेसको आन्तरिक रूपान्तरणबारे चर्चा गर्दै सचेतक राईले पार्टीको कार्यशैलीमा परिवर्तन आएको दाबी गर्नुभयो । बजारमा व्याप्त महँगी र ग्यास लगायतका अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेका बेला सरकार संवेनदशील नभएको उहाँको आरोप छ । सरकार जनसरोकारका विषयलाई छाडेर मधुमास मनाउन व्यस्त रहेको टिप्पणी गर्दै उहाँले सदन र सामाजिक सञ्जालमार्फत सरकारलाई निरन्तर खबरदारी गर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।




