चिया क्षेत्रको संकटप्रति सांसद राईको चिन्ताः सरकारी उदासीनताका कारण निर्यातमा अवरोध | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

चिया क्षेत्रको संकटप्रति सांसद राईको चिन्ताः सरकारी उदासीनताका कारण निर्यातमा अवरोध

काठमाडौं ।

नेपाली काँग्रेसका सचेतक निश्कल राईले पूर्वी पहाडी जिल्ला इलामको मेरुदण्डका रूपमा रहेको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । निर्यातमा देखिएका बाधा र बजार व्यवस्थापनको अभावमा चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले इलामका अधिकांश नागरिकको जीविकोपार्जनको मुख्य स्रोत चिया भएपनि सरकारले यस क्षेत्रको समस्या समाधानमा तदारुकता नदेखाएको आरोप लगाउनु भयो । उहाँले चिया किसान र व्यवसायीहरूले भोग्दै आएका समस्याका बारेमा आफूले पटक–पटक सदन र सरकारको उच्च तहमा कुरा उठाए पनि सुनुवाई नभएको गुनासो गर्नुभयो । नेपाली चियाको प्रमुख बजारका रूपमा रहेको छिमेकी राष्ट्र भारतको पश्चिम बंगाल सरकारले गुणस्तर परीक्षणका नाममा नेपाली चियालाई अनावश्यक दुःख दिइरहेको सांसद राईले बताउनु भयो । उहाँकाअनुसार पानीट्याङ्की नाकामा नेपाली चियाका कन्टेनरहरू १५ दिनसम्म रोकिने गरेका छन् । यो समस्या प्राविधिक मात्र नभई कुटनीतिक भएको उल्लेख गर्दै उहाँले सरकार–देखि–सरकार तहमा वार्ता गरेर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । परराष्ट्रमन्त्री र अन्य उच्च अधिकारीहरूको हालैका वैदेशिक भ्रमणहरूमा यो विषयले प्राथमिकता नपाउनु दुर्भाग्यपूर्ण रहेको उहाँको टिप्पणी थियो ।

नेपाली चियाको गुणस्तर प्रमाणित गर्न नेपालमै अन्तर्राष्ट्रिय स्तरको परीक्षण केन्द्र स्थापना गर्नुपर्ने माग राईले अघि सार्नुभयो । राज्यले चियालाई प्रमुख नगदे बाली र राजस्वको स्रोतका रूपमा स्वीकार्न नसकेको उहाँको तर्क छ । चिया बगानको संरक्षण, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारका लागि सरकारले नयाँ स्टार्टअप र सहुलियतका कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनु भयो । व्यवसायीहरू आन्दोलित भई माईतीघर मण्डलामा धर्ना बस्ने तयारीमा रहेको उल्लेख गर्दै सांसद राईले सरकारलाई बेलैमा सचेत बन्न आग्रह गर्नुभयो । प्रतिपक्षमा रहे पनि आफू चिया किसानकै छोरा भएको नाताले यस क्षेत्रको समस्या समाधानका लागि निरन्तर आवाज उठाइरहने र सरकारलाई जबाफदेही बनाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार