सडक विस्तारका लागि पोल सार्ने कार्य ८० प्रतिशत सम्पन्न, अवरोध हटाउन प्राधिकरण सक्रिय | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

सडक विस्तारका लागि पोल सार्ने कार्य ८० प्रतिशत सम्पन्न, अवरोध हटाउन प्राधिकरण सक्रिय

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा भइरहेको सडक विस्तार कार्यलाई सहयोग पु¥याउन विद्युतीय पोल स्थानान्तरण गर्ने कार्यलाई तिब्रता दिएको छ ।
सडक विस्तारका क्रममा बाधक बनेका पोलहरू सार्ने काम हालसम्म ८० देखि ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको प्राधिकरणले जनाएको हो । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रवार बसेको बैठकमा बोल्दै नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पोल सार्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँकाअनुसार काठमाडौं–पोखरा सडक खण्ड लगायतका मुख्य क्षेत्रहरूमा पोल सार्ने काम करिब सकिएको छ भने केही स्थानमा पुराना पोलहरू उखेल्न मात्र बाँकी रहेको छ । कामका क्रममा आइपर्ने व्यवधानबारे स्पष्ट पार्दै निर्देशक श्रेष्ठले कतिपय स्थानमा जमिनको सतह (ल्याण्ड लेभल) नमिलेका कारण तारले भुइँ छुने जोखिम हुनाले पोल सार्न ढिलाइ भएको बताउनु भयो । प्राधिकरणले सडक विभागसँगको सहकार्यमा सातै प्रदेशका कार्यालयहरूमार्फत पोल स्थानान्तरणको काम गरिरहेको छ । मुख्य ठेकेदारले काममा ढिलाइ गरेमा दुई–चारवटा पोलका कारण सडक विस्तार नरोक्न प्राधिकरण आफैँले ठेकेदार परिचालन गरेर भएपनि काम अघि बढाउन निर्देशन दिएको श्रेष्ठले जानकारी दिनुभयो ।

तराईका जिल्लाहरूमा गर्मीको समयमा विद्युत कटौती गर्दा उपभोक्ताहरू मर्कामा पर्ने कुरालाई ध्यानमा राख्दै प्राधिकरणले नयाँ कार्यनीति अपनाएको छ । एउटा वा दुईवटा पोलका लागि पटक–पटक लाइन काट्नुभन्दा सडकको निश्चित क्षेत्र (स्ट्रेच) पूर्ण रूपमा तयार भएपछि एकैपटक दिनभरिको ‘शटडाउन’ लिएर सबै पोल सार्ने रणनीति लिइएको छ । ११ केभीका पोलहरू सार्न टावरजस्तो कठिन नहुने भएकाले प्राविधिक टोलीले छोटो समयमै ठूलो क्षेत्रको काम सम्पन्न गर्न सक्ने श्रेष्ठको दाबी छ । उहाँले कुनैपनि विशिष्ट स्थानमा पोलका कारण सडक निर्माण रोकिएको खण्डमा प्राधिकरणले त्यसलाई गम्भीरतापूर्वक लिई तत्काल समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Leave a Reply